साकेलामा विकासे योजना मर्मतका लागि जनश्रमदान अभियान

Halesi Khabar

खोटाङ, १७ भदौ । साकेला गाउँपालिकाले विकास÷निर्माणका काममा जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका सबै ग्रामीण सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन तथा गोरेटोबाटो, पुलपुलेसा र सार्वजनिकस्थलहरु मर्मतका लागि जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

वर्षादका कारण बिग्रिएर क्षतिग्रस्त बनेका ग्रामीण सडक, गोरेटो बाटो, पुलपुलेसा तथा सार्वजनिकस्थलहरु नियमित मर्मत गर्नका लागि गाउँ कार्यपालिकाको बैठकबाटै निर्णय पारित गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताउनुभयो । “सबै कामका लागि गाउँपालिकाले बजेट दिनसक्ने अवस्था छैन । आफ्नो ठाउँको विकासका लागि हामीमा आफैमा लाग्नुपर्ने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “ग्रामीण सडकहरु बाह्रै महिना सञ्चालनमा ल्याउन तथा सार्वजनिकस्थलहरु मर्मत गर्नका लागि प्रत्येक वडामा कम्तिमा पनि महिनाको दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्नेगरी गाउँ कार्यपालिकाको बैठकबाट निर्णय पारित गरिएको छ । यसले गाउँपालिकाको मुहार फेर्नका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

गाउँपालिकाको पाँचवटै वडाले नेतृत्व गर्नेगरी महिनाको कम्तिमा पनि दुई दिन अनिवार्य रुपमा जनश्रमदान अभियान सञ्चालन गर्नुपर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो । वर्षादका कारण क्षति भएका ग्रामीण सडक, गोरेटो बाटो, पुलपुलेसा लगायत भौतिक संरचनाहरुको श्रमदानमार्फत मर्मत गरिने जनाइएको छ ।

वडा नं.–३ वडा कार्यालय खिदिमाले यसअघिदेखि नै महिनाको दुई पटक श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । वडा कार्यालयले सञ्चालन गर्दै आएको श्रमदान अभियान प्रभावकारी भएकाले अन्य वडाहरुमा पनि श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

श्रमदान अभियान सञ्चालन गर्दा गाउँमा छिटो विकास हुनुका साथै राज्यको करोडौँ रकम खर्च हुनबाट जोगिने गाउँपालिकाले जनाएको छ । आफूहरुले सञ्चालन गरेको श्रमदान अभियानमा वडाबासी नागरिक स्वतः स्फूर्त सहभागी हुने गरेको खिदिमाका वडाध्यक्ष गोविन्द तामाङले बताउनुभएको छ ।

“नागरिकहरु विकास चाहान्छन् । श्रमदान गर्न नागरिक आफै अघि सरेका छन् । हामीले अभियान मात्र सञ्चालन गरेका हौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “ग्रामीण सडक, गोरेटो बाटो, वाबु (चिण्डो) पोखरी लगायतका ठाउँहरु वर्षादका कारण बिग्रिएको थियो । जनश्रमदान अभियानमार्फत उक्त स्थानहरुको सफाइ गरिसकिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा जनश्रमदान अभियान सञ्चालन तयारी गरिरहेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ग्रामीण सडक तथा गोरेटो बाटो, सार्वजनिकस्थल, पुलपुलेसा लगायतका ठाउँहरु मर्मतका लागि यसअघिबाटै जनश्रमदान अभियान सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया