विद्यालयबाट घर फर्कदै गरेकी किशोरी हत्या आरोपमा विश्वकर्मा पक्राउ

Halesi Khabar

खोटाङ, ६ माघ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहालको हत्या आरोपमा रावाबेँसी गाउँपालिका–५ दुवेकोलका २५ वर्षीय अनन्त विश्वकर्मा पक्राउ परेका छन् । त्रिधार्मिकस्थल हलेसीस्थित महेन्द्रोद्धय माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत १७ वर्षीया किशोरी दाहाल यही माघ–२ गते बिहान आफ्नै घर नजिक शङ्कास्पद अवस्थामा मृत फेला परेपछि उनको हत्या आरोपमा विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

किशोरी हत्या आरोपमा पक्राउ परेका विश्वकर्मालाई आज (शुक्रबार) कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । “मृतक किशोरीका आफन्तले दिएको किटानी जाहेरीको आधारमा विश्वकर्मालाई माघ–३ गते पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानबाट विश्वकर्माले किशोरी (रञ्जिता दाहाल)को हत्या गरेको नभइ आत्महत्या दुरुत्साहन गरेको खुलेको छ । अनुसन्धन गर्नेक्रम जारी छ । बिस्तृत जानकारी अनुसन्धान सम्पन्न गरेपछि मात्रै दिन सकिन्छ ।”

घटना लगत्तै भागेर दुवेकोल पुगेका विश्वकर्मालाई प्रहरीले दुवेकोलस्थित आफ्नै घरबाट माघ–३ गते पक्राउ गरेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवम् नगर प्रवक्ता कमल गिरीले बताउनुभयो । “घटना भएको अघिल्लो दिन आरोपित विश्वकर्मा मादक पदार्थ सेवन गरेर किशोरीको फोटो उनका आफन्तलाई देखाउँदै गाउँमा डुलेका रहेछन्”, उहाँले भन्नुभयो, “राति रञ्जिताको हत्या गरेपछि फरार भएको अवस्थामा उनलाई प्रहरीले दुवेकोलबाट पक्राउ गरेको हो ।”

पक्राउ परेका विश्वकर्माको बुबा÷आमा केही वर्षयता मृतक किशोरीको घर नजिकै पर्ने स्थानीय दिनेश राईको घरमा बनीबुतो गरेर बस्दै आएका छन् । स्थानीयका अनुसार झापा बस्दै आएका विश्वकर्मा बुबा÷आमा बस्दै आएको घरमा माघ–१ गते सङ्क्रान्ति मान्न हलेसीस्थित काभ्रे आएका थिए ।

विद्यालयबाट माघ–१ गते आइतबार दिउँसो करिब तीन बजेतिर घर फर्कनेक्रममा सम्पर्क बिहिन बनेकी किशोरी भोलिपल्ट (सोमबार) बिहान आफ्नै घर नजिकैको खन्युको रुख (घाँसजन्य वनस्पती)को फेदमा मृत फेला परेकी थिइन् । माघ–३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तीरय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय गएकी किशोरी तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी हुन् ।

बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी किशोरी घरभन्दा करिब २०० मिटर टाढा रुखको फेदमा मृत फेला परेकी थिइन् । घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा मृतक किशोरीको शव भूइँमा घोप्टो परेको भेटिएको वडाध्यक्ष एवम् नगर प्रवक्ता गिरीले बताउनुभएको छ ।

मृतकका आफन्तले रञ्जिताले आत्महत्या गरेको नभइ विश्वकर्माले नै हत्या गरेको दाबी गरेका छन् । शङ्कास्पद अवस्थामा मृत फेला परेकी किशोरीको पोष्टमार्टम रिपोर्ट (शव परीक्षण प्रतिवेदन) आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रमा यसअघि विभिन्न समयमा सुगा राई र ज्ञानीमायाँ विश्वकर्माको हत्या भएको थियो । उनीहरु दुवैजनाको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लागेको छैन ।

 

 

तपाईको प्रतिक्रिया