गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्कका तोरण बस्नेतको डुके गोरु प्रथम

Halesi Khabar

खोटाङ, ४ माघ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम भएको छ । प्रतियोगितामा केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रिमल राईको डुके गोरु द्धतीय र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका उमेश बस्नेतको तारे गोरु तृतीय भएका छन् ।

गोरु जुधाइ प्रतियोगितामा प्रथम, द्धतीय र तृतीय स्थान प्राप्त गर्ने गोरु धनीले क्रमशः नगद रु २० हजार, रु १० हजार र पाँच हजार जितेका छन् । प्रतियोगितामा केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका नौँवटा गोरुबीचमा प्रतिष्पर्धा गराइएको थियो ।

माघे सङ्क्रान्तिको दिन गर्ने भनिएको गोरु जुधाइ प्रतियोगिता केपिलासगढी गाउँपालिकामा एलम्वर दिवस, त्रिवेणी मेला लगायत विभिन्न कार्यक्रम भएकाले सो दिनको लागि तयारी गरिएको प्रतियोगिता आज (बुधबार) गरिएको आयोजकले जनाएको छ । बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा आयोजित गुरुङले गोरु जुधाइ प्रतियोगिता स्थानीय रामचन्द्र विश्वकर्मा र पासाङ घले गर्नुभएको हो ।

किसानलाई स्वस्थ गोरु उत्पादनमा प्रोत्साहित गर्दै स्थानीयलाई मनोरञ्जन दिन गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । जिल्लामै पहिलोपल्ट आयोजना गरिएको गोरु जुधाउने प्रतियोगिता हेर्नका लागि खेलमैदान आसपासमा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति देखिएको थियो ।

आगामी वर्षदेखि हरेक माघ–२ गते बाक्सिलामा गोरु जुधाइ प्रतियोगिता गर्ने आयोजकले जनाएको छ । मेला वा चाडको अवसरमा अन्य केही जिल्लामा गोरु जुधाउने प्रतियोगिता गरेझैं केपिलासगढीमा पनि गोरु जुधाउने प्रतियोगिता शुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया