कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै गुरुङ दम्पती

Halesi Khabar

खोटाङ, ३० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेता टनेलहरु लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जनबढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेडा, तिते करेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउली लगायत विभिन्न प्रजातिका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा–छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यवसायिक कृषि व्यवसाय सञ्चालन गर्नुभएको हो ।

युवराजले व्यवसायिक कृषि पेशा अपनाउनुभएको करिब चार वर्ष भयो । वि.सं. २०७५ सालमा कृषि फार्म दर्ता गरेर व्यवसायिक कृषि पेशा शुरु गर्नुभएका युवराजको वार्षिक आम्दानी अहिले रु २० लाखभन्दा बढी छ ।

युवराजले उत्पादन गर्नुभएको तरकारी तथा फलफूल विशेषगरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ । बेमौषमी खुर्सानी प्रति केजी रु ४५० र गोलभेडा प्रति केजी रु ७५ मा दिक्तेल बजारस्थित विभिन्न बिक्री केन्द्रमा आफैले लगेर ठेगाउने (ठेक्कामा लिएर बेच्ने व्यक्तिलाई आफ्नो मूल्य लिएर दिने) गर्नुभएको छ ।

विज्ञान विषयमा आईएसी तथा आईटी इन्जिनियर अध्ययन गर्नुभएका ३६ वर्षीय युवराजलाई श्रीमती सरिता गुरुङलेसमेत सहयोग गर्दै आउनुभएको छ । सरिता बिहान÷बेलुका घरधन्दा गरेर बचेको दिउँसोको समय कृषि फार्ममा काम गर्नुहुन्छ ।

श्रीमान÷श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरु पनि उनीहरुको सिको गर्न थालेका छन् । गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्म २४ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको छ ।

बहुउद्देश्यीय कृषि फार्ममा अकबरे खुर्सानी दुई हजार २०० बोट र क्यारोलिना ९०० बोट रहेको जनाइएको छ । बजारमा क्यारोलिनाभन्दा अकबरेको बढी माग रहेको युवराज बताउनुहुन्छ । “बजारको मागलाई मध्यनजर गर्दै अफसिजन (बेमौषममा उत्पादन हुने)का लागि अकबरे र क्यारोलिना एक÷एक टनेल लगाइएको जनाइएको छ”, उहाँले भन्नुभयो, “अकबरेको माग धान्न नसकिने भएपछि टनेल थप्ने तयारी गरेका छौँ ।”

बुबा चक्रबहादुर र आमा हीरामाया गुरुङको माहिला छोरा युवराजले सञ्चालन गर्नुभएको कृषि फार्ममा स्थानीय युवाले समेत आफ्नै गाउँमा रोजगारी पाएका छन् । फार्ममा आइपर्ने काममा सहयोग गर्न÷गराउन ज्यालादारीमा दैनिक पाँच÷छजना युवालाई लगाउने गरिएको गुरुङ दम्पतीले बताएका छन् ।

यो वर्ष थप स्तरोन्नति गर्ने योजना रहेको फार्ममा यस वर्षबाट कर्मचारीको रुपमा पूर्णकालीन कामदार राख्ने तयारी गरिएको युवराजले बताउनुभयो । “अहिले दैनिक ज्यालादारीमा काम लगाउने गरिएको छ । रु ३०० को दरले दैनिक पाँच÷छजनालाई ज्याला दिनुभन्दा पूर्णकालीन कर्मचारी राख्दा फाइदा हुने भएकाले यो वर्षबाट पूर्णकालीन कर्मचारी तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पूर्णकालीन कर्मचारी भएपछि उनीहरुलाई पनि पाएजस्तो हुने । हामीलाई पनि दिएजस्तो हुने । दुवैतर्फको काम चल्ने भएकाले दुईजना युवालाई पूर्णकालीन कर्मचारी राख्ने तयारी गरेका हौँ ।”

गुरुङ दम्पतीले सोही कृषि फार्ममा तरकारी र फलफूलसँगै माछा र बाख्राखसीसमेत पाल्नुभएको छ । उनीहरुको बहुउद्देश्यीय कृषि फार्ममा अहिले दुईवटा पोखरीमा माछा तथा ३२ वटा खसीबाख्रा रहेका छन् ।

कृषि फार्मबाट माछाका भुरासमेत ग्रडिङ गरेर (बढाएर) बिक्री गर्दै आएका गुरुङ दम्पतीले वाषिर्क ६०० केजीभन्दा बढी माछा बिक्री गर्दै आउनुभएको छ । ग्रास र कमन कार्प प्रजातिका माछा उत्पादन गर्दै आएका गुरुङ दम्पतीले गाउँघर तथा दिक्तेल बजारमा बिक्री गर्दै आएका छन् ।

बहुउद्देश्यीय कृषि फार्मबाट खसी वार्षिक सात÷आठवटा तथा मसिनो पाठापाठी १०÷१५ वटा बिक्री गर्ने गरिएको बताइएको छ । बैङ्कको ऋण लिएर व्यवसायिक कृषि फार्म सञ्चालन गरेका गुरुङ दम्पतीको एक छोरी छन् ।

कृषि व्यवसाय गर्ने कृषकका लागि बजारको समस्या भए पनि आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि पेशा अङ्गालेको युवराजले बताउनुभएको छ । “विदेशको मोह लागेन । ठूलो देश जानु बढी खर्च हुने । आफ्नै गाउँमा केही गरुम भन्ने उद्देश्यले कृषि व्यवसाय शुरु गरियो”, उहाँले भन्नुभयो, “अरुको खटनमा बस्नु परेन । सिर्जनशील हुन सके र मेहनत गर्न सकेमा आफ्नै ठाउँमा पनि मनग्य आम्दानी गर्न सकिने रहेछ ।”

गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्मलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल सहयोग गरेको जनाइएको छ । दुईवटा एमएस टनेलका लागि कृषि ज्ञान केन्द्र र दुईवटा प्लास्टिक टनेलका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको युवराजले बताउनुभयो ।

तपाईको प्रतिक्रिया