कोरोनाले बन्द भएको हरमटारको साप्ताहिक हटिया पुनः सञ्चालनमा

Halesi Khabar

खोटाङ, २३ पुस । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण बन्द भएको रावाबेँसी गाउँपालिकामा सञ्चालित साप्ताहिक हाटबजार पुनः सञ्चालनमा ल्याइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्नेक्रममा नेपाल सरकारको निर्देशनमा बन्द गरिएको साप्ताहिक हाटबजार शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा हरेक शुक्रबार लाग्ने हाटबजार कोरोनाका कारण करिब दुई वर्ष बन्द भएको थियो । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण गर्दै उनीहरुको आयआर्जनमा टेवा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले वि.सं. २०७७ पुस–१० गतेदेखि हरमटारमा हाटबजार सञ्चालनमा ल्याएको थियो ।

कोरोना भाइरसको महामारी फैलिएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि हाटबजार बन्द गरिएको व्यवस्थापन समितिले जनाएको छ । वि.सं. २०७९ पुस–८ गते जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, घरेलु तथा साना उद्योग महासङ्घ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार बन्द रहेको हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको केन्द्र हरमटारमा साप्ताहिक हाटबजार सञ्चालनमा आएपछि विशेषगरी सागसब्जी, फलफूल, दाल, अन्न, पशुपन्छी, कपडा लगायतका थोकवस्तु किनबेच शुरु भएको छ । बन्द रहेको लामो समयपछि हाटबजार पुनः सञ्चालन हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् ।

हरमटारको हाटबजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता राजन मगरले बताउनुभयो । छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादनका लागि चर्चित छ ।

गाउँपालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापन गर्न हाटबजार पुनः सञ्चालन गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । “रावाबेसीमा धेरै कृषि उपजहरु उत्पादन हुन्छन् तर, बजारीकरणको समस्या छ”, उहाँले भन्नुभयो, “कृषकको सहजताका लागि बन्द रहेको हाटलाई पुन ः सञ्चालनमा ल्याइएको हो । आगामी दिनमा कृषि पेशाबाट कृषकलाई आत्मनिर्भर बनाउदै पालिकाभित्र हुने आयातलाई कम गर्ने योजनासमेत बनाइएको छ ।”

खाने तेल आयातलाई रोक्न गाउँपालिकाले तोरी उत्पादनका लागि कृषकलाई बीउ उपलब्ध गराएको छ । आगामी दिनमा गुन्द्रक, भुजा, अचार लगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी गाउँसभाबाटै कार्यक्रम पारित गरेर सञ्चालन गरिएको शृषि शाखा प्रमुख मुगाधन राईले बताउनुभयो ।

पहिलो चरणमा एक हजार २६०केजी तोरीको बीउ खरिद गरेर कृषकलाई वितरण गरिएको जनाइएको छ । तोरी पेल्नका लागि गाउँपालिकाले हरेक टोलमा विद्युतीय मिलसमेत उपलब्ध गराउने गाउँपालिका प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

स्थापनाकालको करिब तीन महिना सञ्चालन भएको हाटबजार बन्द भएपछि सो स्थानमा गाउँपालिकाले कोरोना सङ्क्रमित राख्नका लागि क्वारेन्टाइन बनाएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाभित्रका किसानलाई लक्षित गर्दैै हरमटारमा चिस्यान केन्द्रसमेत निर्माण शुरु गरिएको छ । हटियामा बिक्री नभएका कृषि उपज भण्डार गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया