तापखोला पुल सञ्चालन भएपछि उत्तरी क्षेत्रका स्थानीयलाई राहत

Halesi Khabar

खोटाङ, १३ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिलाबजार जोड्ने सडकको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ । १ नं. प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नं. १ नेपाल, उदयपुरको भ्याटसहित रु सात करोड ६१ लाख २४ हजार ५४३ बजेटमा निर्माण गरिएको मोटरेबल पक्की पुल हालै सञ्चालनमा आएको हो ।

वि.सं. २०६६÷०६७ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडक खण्डको तापखोलामा ढिलै भएपनि मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । रौता–रोशन–सुशम–आदित्य जेभीले वि.सं. २०७८ साल मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौता गरेको मोटरेबल पक्की पुल कोरोना भाइरसबाट बँच्न सरकारले लागू गरेको लकडाउनका कारण झण्डै वर्षदिन ढिला सम्पन्न भएको हो ।

वि.सं. २०६६ सालमा साविक खार्मी गा.वि.स.को रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको दिक्तेल–खार्मी–बाक्सिला सडक वि.सं. २०७७ सालमा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिलाबजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाई र आठ दशमलव ४० मिटर चौडाईको छ ।

तापखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको केपिलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताउनुभयो । “तापखोलामा मोटरेबल पक्की पुल नहुँदा करिब छ महिना यातायात बन्द हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “ढिलै भएपनि तापखोलामा मोटरेबल पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि उत्तरी क्षेत्रमा सञ्चालित विकासे योजनाको काममा समेत सहज भएको छ ।”

निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारी साधनमात्र सञ्चालन हुँदै आएको सडकखण्डमा पछिल्लो समय नियमित बस तथा सुमो सेवासमेत शुरु भएको छ । हिउँदभर करीब छ महिनामात्र सञ्चालन हुने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक नगरको गौरवका आयोजनामा राखेर स्तरोन्नति शुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले बताउनुभयो । “दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभइ उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ ।” उहाँले भन्नुभयो, “यो सडकलाई स्तारोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याउन नगरपालिकाको आवश्यक सहयोग रहन्छ । कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहल गर्ने कामसमेत अगाडि बढाइएको छ ।”

दिक्तेलबजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोली सकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्ने छ ।

केपिलासगढी गाउँपालिकाको बाक्सिला बजार जोड्ने दिक्तेल–हुर्लुङ–जालपा हुँदै बाक्सिलासम्मको अर्को सडक पनि सञ्चालनमा छ । उक्त सडकखण्डमा पर्ने तापखोलामा समेत यसअघि नै पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

तपाईको प्रतिक्रिया