खोटाङ : प्रदेशसभा (क) मा एमाले उम्मेदवार पाँचकर्ण राई (पीके) विजयी

Halesi Khabar

खोटाङ, ८ मङ्सिर । खोटाङ प्रदेशसभा (क)मा नेकपा (एमाले)का उम्मेदवार पाँचकर्ण राई ‘पिके’ विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका वीरबलकाजी राईलाई एक हजार १९२ मतान्तरले पराजित गर्दै पिके प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
पिकेले १३ हजार १५७ मत प्राप्त गर्दा वीरबलकाजीले ११ हजार ९६५ मत प्राप्त गर्नुभएको छ । वि.सं. २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित पिके वि.संं २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो ।

पार्टीको १ नं. प्रदेश समिति सदस्य रहनुभएका पिके जिल्लामा प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ । संविधानसभा सदस्यको भूमिकामा रहेको समयमा जयरामघाटको मोटरेबल पक्की पुल छिटो सम्पन्न गराउन पिकेको महत्वपूर्ण हात रहेको थियो ।

जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले दुई हजार ३४०, नेकपा (माले)का पदमप्रसाद आचार्यले एक हजार ५२५, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले १६४ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाल मजदुर किसान पार्टीका केशव राईले ८२, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ तथा अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले तीन हजार १४५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौहत्तर हजार ६३९ मतदाता रहेको प्रदेशसभा (क)मा ३३ हजार ९४४ मत खसेको थियो । प्रदेशसभा सदस्यका लागि खसेको मतमध्ये एक हजार ५५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिनुभयो ।

उता, प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’को अग्रता कायमै छ । शुरुबाटै अग्रता कायम राख्नुभएका मन्त्री पासाङ निकटम् प्रतिस्पर्धी नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईभन्दा एक हजार १९२ मतले अगाडि हुनुहुन्छ ।

दश स्थानीय तह रहेको जिल्लामा पाँचवटाको मत गणना सम्पन्न हुँदा मन्त्री पासाङले १५ हजार ६८३ मत प्राप्त गर्नुभएको छ भने, भट्टराईले १४ हजार ४९१ मत प्राप्त गर्नुभएको छ । अहिले बराहपोखरी गाउँपालिकाको गणना भइरहेको छ ।

प्रदेशको गणना सकिएसँगै प्रतिनिधिसभाको तीन ठाउँमा गणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ६७ हजार ३७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको छ ।

 

तपाईको प्रतिक्रिया