शल्यक्रियामार्फत प्रसूति गराउने सेवा महिनादिनपछि पुनः सञ्चालनमा

Halesi Khabar

खोटाङ, २७ असोज । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा महिनादिन पश्चात पुनः सञ्चालनमा ल्याइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ–२६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज–२७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो ।

कर्मचारी अभावमा शल्यक्रिया सेवा बन्द भएको सार्वजनिक सूचना अस्पतालले प्रकाशन गरेपनि आकस्मिक रुपमा आएका बिरामीको भने, उपचार गर्दै आइएको जिल्ला अस्पतालले जनाएको थियो । अवरुद्ध शल्यक्रिया सेवा महिनादिनपछि पुनः नियमिरुपमा सञ्चालनमा आएपछि सेवाग्राही हर्षित भएका छन् ।

महिनादिनसम्म अवरुद्ध शल्यक्रियमार्फत प्रसूति गराउने सेवा अर्को कर्मचारीको व्यवस्था गरेर पुनः सञ्चालनमा ल्याइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताउनुभयो । “जिल्ला अस्पतालमा एनेस्थेसियाका एकजनामात्र कर्मचारी रहेको र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले शल्यक्रिया सेवा बन्द गरिएको थियो”, उहाँले भन्नुभयो, “दुर्घटनाका घाइते कर्मचारी ठीक नभएपछि अर्को कर्मचारी व्यवस्थापन गरेर महिनादिनपछि अवरुद्ध शल्यक्रियामार्फत प्रसूति गराउने सेवा पुनः सञ्चालनमा ल्याइएको छ । अब जुनसुकै अवस्थामा पनि शल्यक्रिया सेवा उपलब्ध हुन्छ ।”

दश स्थानीय तह रहेको जिल्लामा वि.सं. २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो । दिक्तेलस्थित जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवतीहरु दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि जोखिम मोलेरै भएपनि शल्यक्रिया गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका अन्य बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राहीहरु मारमा परेका थिए । जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राहीहरु मारमा परेका हुन् ।

शल्यक्रिया सेवा बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य जटिल किसिमका बिरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लान थालिएको थियो । शल्यक्रिया गर्नका लागि राजधानी काठमाडौँ लगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तिमा पनि जिल्लामा रु दुई लाख ५० हजारसम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ ।

आर्थिक अवस्था मजबुत भएका वा ऋणपान गर्न सक्ने बिरामी हेलिकोप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर, आर्थिक अवस्था कमजोर भएका परिवार उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य भएको घटनाहरु समेत रहेका छन् ।

आकस्मिक अवस्थामा सुविधासम्पन्न अस्पताल जानुपर्दा हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था भएकै कारण खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन्छ । स्वास्थ्यमा जटिल किसिमका समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा हुनेखाने परिवारहरु बसाइँ सरिकेकाछन् ।

वि.सं. २०४९ वैशाख–१ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई सङ्घीय सरकारको करीब रु २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको छ । स्थापना भएको ३० वर्षसम्म १५ शय्यामा सञ्चालन भइरहेको अस्पतालमा प्रदेश सरकार, १ नं. प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया