आगलागीमा घर तथा घरमा भएका सामग्री जलेपछि सार्की परिवारको बिचल्ली

Halesi Khabar

खोटाङ, १८ असोज । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङमा आगलागी हुँदा दुईवटा घर, एउटा गोठसहित दुईवटा पशुचौपाया जलेर नष्ट भएको छ । घर नजिकै रहेको गाईगोठबाट सोमबार दिउँसो शुरु भएको आगोले स्थानीय राजन सार्की र राजनका छोरा सन्तोषको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पूर्णरुपमा जलेर नष्ट भएको हो ।

बुबाछोराको एकै ठाउँमा भएको घरसँगै रहेको गोठबाट शुरु भएको आगोले दुबै घर तथा घरमा भएका सम्पूर्ण सामग्री, दुईवटा पशुचौपाया, नगद, सुन, लत्ताकपडा, भाँडावपर्तन, खाद्यान्न लगायत जलेर नष्ट हुँदा रु ११ लाख ६० हजार बराबरको क्षति भएको वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभयो । गोठबाट शुरु भएको आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घरधनी राजन कान्छी छोरीसँग घरमा बसिरहेको बेला आगलागी भएको हो भने, सन्तोष ससुराली गएका थिए । आगलागीबाट राजनको नगद रु दश हजार, एक तोला सुन, ६० केजी चामल, रु ७५ हजार बराबरको भाँडावर्तन, रु ५० हजार बराबरको लत्ताकपडा, एक मुरी मकै, तीन मुरी कोदो, रु दश हजार बराबरको एक थान सोलार प्यानेल, एउटा गाई र एउटा सुँगुर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

नमूना भञ्ज्याङमा लागेको आगोलाई स्थानीयवासीले करिब तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । दशैँ मान्न घर आएका युवाले तत्कालै नमूना भञ्ज्याङमा भएको आगलागीलाई नियन्त्रणमा लिएका कारण छिमेकी गाउँमा थप क्षति हुन नपाएको स्थानीय गणेश कार्कीले जानकारी दिनुभयो ।

वर्ष दिनमा आउने हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वको मुखमा आलगागी हुँदा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि सार्की परिवार बिचल्लीमा परेका छन् । अग्नीपीडित सार्की परिवारलाई तत्कालका लागि काका पर्ने आफन्तकामा राखिएको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।

अग्नीपीडित सार्की परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग पहल भइरहेको जनाइएको छ । चाड÷पर्वको समयमा भएको आगलागीका घटनाका पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले समेत राहत उपलब्ध गराउने तयारी गरेको छ । तस्वीर सौजन्य : गणेश कार्की

तपाईको प्रतिक्रिया