वर्षाले दिक्तेलमा एक घर ढल्यो, विभिन्न ठाउँमा ठूलो क्षति

Halesi Khabar

खोटाङ, १३ असोज । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गएराति परेको अविरल वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले दुई घरमध्ये एक घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो ।

बस्न नमिल्नेगरी भत्किएको घरको पर्खालले बाख्राको खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेपछि बस्नेत परिवार आफन्तकामा आश्रय लिएर बसेका छन् ।

वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा ठूलो पहिरो झरेर थुप्रिएको छ । यस्तै, सोही ठाउँका नारायण राईको घरमा वर्षाको भलपानी पसेर बस्न नमिल्ने अवस्था सिर्जना भएको छ ।

वर्षाका कारण वडाका सडक र कुलोका विभिन्न ठाउँमा कान्ले पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताउनुभयो । पहिरोले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छ्न ।

वर्षा र पहिरोका कारण क्षति व्यहोरेका पीडितहरु राहतका लागि सिफारिस माग्न फोन गर्न थालेका थालेका वडाध्यक्ष राईले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले घरमा पानी पसेको, सामान्य पहिरो खसेको बाहेक जिल्लामा मानवीय क्षतिको जानकारी दिनुभएको छ ।

वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । हिन्दु नेपालीहरुको महान चाड दशँै, तिहार तथा छट मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लाबासी पैदल यात्रा गर्न बाध्य भएका छन् ।

वर्षाका कारण अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहले पहल गरिरहेका छन् । जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा जेसिबी प्रयोग गरेर पहिरो हटाउने तथा खाल्डाखुल्डी पुर्ने काम शुरु गरेका छन् ।

तपाईको प्रतिक्रिया