दशैँमा बेच्न सामान लानेक्रममा ट्याक्टरबाट खसेर व्यापारीको मृत्यु

Halesi Khabar

खोटाङ, १२ असोज । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट व्यापारिक सामान लिएर खार्मीतर्फ जाँदै गरेको ट्याक्टरबाट खसेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५६ वर्षीय व्यापारी टेकबहादुर राईको मृत्यु भएको छ । हिन्दु नेपालीहरुको महान चाड दशैँको अवसरमा लाग्ने मेला तथा पसलमा राखेर बेच्न दिक्तेल बजारस्थित नवीन बानियाँको होलसेल पसलबाट आवश्यक सामान खरिद गरेर घरतर्फ लानेक्रममा सोही नगरपालिकाको वडा नं.–२ सोल्मास्थित डाँडाटोलमा पुग्दा ट्याक्टरबाट खसेर राईको घटनास्थलमै मृत्यु भएको हो ।

प्रदेश १–०२–००३ त १४९२ नम्बरको ट्याक्टरको क्याबिन (चालकको पछाडि)मा बसेका व्यापारी राई एक्कासी भूइँमा खसेपछि ट्याक्टरको अगाडिको चक्काले ठक्कर दिँदा गएराति घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुग्नुभएका प्रहरी नायब निरीक्षक गोपी कटवालले जानकारी दिनुभयो । दुर्घटनाका मृतक राईको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल दिक्तेल लगेर राखिएको छ ।

साविक खार्मी गाविसको वडा न.–६ देउसालीगाउँ निबासी मृतक राई बिगत तीन वर्षदेखि गाउँमै किराना पसल गर्दै आएका थिए । दुर्घटना लगत्तै ट्याक्टर र चालक पर्वत राईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिनुभएको छ ।

ट्याक्टरमा चालकसहित चारजना सवार रहेका प्रहरीले जनाएको छ । मृतक राईसँगै सामान खरिद गर्न दिक्तेल आएका तीनजना स्थानीय व्यापारी आ–आफ्नो सामानसहित सोही ट्याक्टरमा सवार रहेका थिए ।

ट्याक्टर धनीले मृतक राईको परिवारलाई किरिया खर्चबापत रु एक लाख नगद दिने सहमति भएपछि शव परीक्षणको प्रक्रिया शुरु गरिएको स्थानीय रमेश राईले बताउनुभयो । दशैँका लागि व्यापारिक सामान लिन दिक्तेल आएका राईको ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि राति नै उनका आफन्तहरु दिक्तेल आएका छन् ।

मृतक राईको दुई छोरा, एक छोरी र श्रीमती छन् । वर्ष दिनमा एक पटक आउने हिन्दु नेपालीहरुको महान चाड दशैँको समयमा राईको ट्याक्टर दुर्घटना परेर मृत्यु भएपछि परिवार तथा आफन्त शोकमा डुबेका छन् ।

तपाईको प्रतिक्रिया