बुइपाको चिस्यान केन्द्र उद्घाटनमै सिमित, उपयुक्त ठाउँमा नभएको किसानहरुको आरोप

Halesi Khabar

खोटाङ, ५ असोज ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उद्घाटन गरेको करिब छ महिना बित्न लाग्यो । तत्कालीन सङ्घीय सांसद विशाल भट्टराईको संसदीय विकास कोषबाट वितरण गरिएको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रमको रु ५० लाख र नगरपालिकाको रु ४० लाख गरी रु ९० लाख लागतमा निर्माण गरिएको चिस्यान केन्द्र गत चैत–२५ गते उद्घाटन गरिएको हो ।

निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको चिस्यान केन्द्र नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका भट्टराईले आफू पार्टीको संसदीय दलका प्रमुख सचेतक भएको समयमा तामझामका साथ उद्घाटन गर्नुभएको थियो । तीस टन भाण्डारण क्षमताको एउटामात्र च्याम्बर रहेको उक्त चिस्यान केन्द्र उद्घाटन गरेकै दिनदेखि अहिलेसम्म चाँबी लगाएर बन्द अवस्थामा राखिएको छ ।

बुइपाको पुरानो व्यापारिक केन्द्र पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्रमा जिल्लाका किसानले उत्पादन गरेका कृषि उपज न्यूनतम मूल्यमा भण्डारण गरेर राख्ने र बाहिरी जिल्लामासमेत निर्यात गर्ने योजना बनाइएको थियो । चिस्यान केन्द्रमा राख्दा हरियो तरकारी महिनादिनसम्म र फलफूल चार महिनासम्म सुरक्षित रहने बताइएको थियो ।

किसानको उत्पादनको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप चिस्यान केन्द्र निर्माण गरेर सञ्चालनमा ल्याइएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताउनुभएको थियो । नगरपालिकाको स्वामित्वमा रहने चिस्यान केन्द्रको रेखदेख वडा कार्यालयले गर्ने बताइए पनि अहिलेसम्म कार्यविधि बनेको छैन ।

पञ्चदोबाटोको दुई रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको चिस्यान केन्द्र उद्घाटन हुँदा बुइपाका स्थानीय कृषकहरु हर्षित भएका थिए । तर, उद्घाटन गरिएको लामो समय बितिसक्दासमेत उक्त चिस्यान केन्द्र सञ्चालनमा नआएपछि अहिले उनीहरु निराश बनेका छन् ।

जिल्लाभरका किसान तथा कृषक समूहले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारण गर्नेगरी बुइपामा निर्माण गरिएको चिस्यान केन्द्र जिल्लाकै पहिलो हो । तर, उक्त चिस्यान केन्द्र हालसम्म सञ्चालनमा नआउँदा पहिलो गाँसमै ढुङ्गा भन्ने उखानझैँ भएको छ ।

बुइपाका उत्कृष्ट कृषक समूह छनोट गरेर चिस्यान केन्द्र सञ्चालनको जिम्मा दिने तयारी गरिएपनि नगरपालिकाले कार्यविधि नबनाएका कारण उद्घाटन गरेको लामो समयसम्म सञ्चालन गर्न नसकिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “कृषक समूहले किसानका कृषि उपज भण्डारण गरे बापत मासिक रूपमा नगरपालिकालाई न्यूनतम भाडा बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि नगरले कार्यविधि बनाएको छैन । अब चाँडै कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।”

नगरपालिकाभित्र निर्माण गरिएका तर, सञ्चालनमा नआएका भौतिक संरचनाका विवरण सङ्कलन गरेर कार्यपालिकाको बैठकमा छलफल गर्ने तयारी भइरहेको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “नगरपालिकाको लगानीमा निर्माण गरिएका धेरै संरचनाहरु प्रयोगमा नआएको भन्ने बुझिएको छ”, उहाँले भन्नुभयो, “कतिपय ठाउँहरुमा मापदण्ड बिपरितका संरचना बनेको भन्ने पनि आएको छ । यस विषयमा चाँडै कार्यपालिकाको बैठक राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउने योजनामा छौँ ।”

पञ्चदोबाटोमा निर्माण गरिएको चिस्यान केन्द्र उपयुक्त ठाउँमा नभएको जिल्लाका किसानहरुले आरोप लगाएका छन् । बुइपाका केही व्यक्तिले व्यक्तिगत स्वार्थपूर्तीका लागि राजनीतिक पहुँचको आधारमा अनुपयुक्त ठाउँमा चिस्यान केन्द्र स्थापना गरेकाले सञ्चालनमा नआएको उनीहरुको दाबी छ ।

तपाईको प्रतिक्रिया