दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङको ताला ११ दिनपछि खोलियो

Halesi Khabar

खोटाङ, ४ असोज । माग पूरा गर्ने सहमति भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङको वडा कार्यालयमा लगाइएको ११ दिनपछि ताला खोलिएको छ । नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई र वडाध्यक्ष लीलाकुमार चौहानसहित जनप्रतिनिधिहरुबीच सहमति भएपछि गत भदौ–२५ गते लगाइएको ताला आज (मङ्गलबार खोलिएको को हो ।

वडाको करारमा यसअघि रहेको कार्यालय सहयोगी हरिप्रसाद चौहानको म्याद थप्ने, रिक्त रहेको सचिव पठाउने, नगरले हस्तक्षेप गरेका अधिकारहरु वडाबाटै गर्न दिनेलगायतका विषयमा दुई पक्षीय सहमति भएपछि वडा कार्यालयको सेवा शुरु गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । विभिन्न माग राख्दै गत भदौ–२४ गतेदेखि सेवा बन्द गरेका वडाध्यक्ष चौहानसहित सदस्यहरुले भदौ–३१ गते प्रमुख प्रशासनकीय अधिकृत सुभाकर पौडेललाई चाबी बुझाएका थिए ।

नगरपालिका प्रमुख भट्टराई र उपप्रमुख राई तथा वडाका पाँचैजना जनप्रतिनिधिबीच भएको छलफल पश्चात वडाध्यक्ष चौहानलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले चाबी बुझाउनुभएको छ । चाबी बुझेसँगै मङ्गलबारबाटै वडाकार्यालयको सेवा पुनः सञ्चालनमा ल्याइएको वडाध्यक्ष चौहानले बताउनुभएको छ ।

यद्यपि, वडाध्यक्ष चौहानमाथि यसअघिदेखि नै स्थानीय बासिन्दाले विभिन्न आरोपहरुसहित दर्जनबढी मुद्दा लगाएका छन् । वडामा सञ्चालित सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदान लगायतका विकासे योजनाका काममा वडाध्यक्ष चौहानकै संलग्नतामा अनियमितता भएको भन्दै विभिन्न समयमा स्थानीय बासिन्दाले अख्तियार लगायत विभिन्न निकायमा उजुरी दिएका हुन् ।

सुरक्षित नागरिक आवास र पूर्वाधार विकासबाट रकम निकासा गरिए पनि योजना अलपत्र पारेको भन्दै स्थानीय बासिन्दाले वडाध्यक्ष चौहानलाई बिपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल काठमाडौँ, जिल्ला प्रशासन कार्यालय खोटाङ लगायत विभिन्न निकायमा उजुरी दिएका छन् । वडाध्यक्ष चौहानमाथि परेको कुनै पनि उजुरीमा अहिलेसम्म फैसला भएको छैन ।

यसअघि गत असार मसान्तमा गुणस्तरहीन सडक ढलानको भुक्तानी नगरपालिकाले नदिने बताएपछि वडाध्यक्ष चौहानले उच्च पदस्त व्यक्तिलाई फोनसमेत गर्न लगाएको स्रोतले जनाएको छ । सङ्घीय सरकारको रु ६८ लाख र वडाको रु दश लाखगरी रु ७८ लाखको लागतमा ढलान गरिएको सडकमा सोलिङ र डण्डी दुबै नरहेको पाइएको नगरपालिकाको अनुगमन समितिले जनाएको छ ।

स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले वि.सं. २०७८ असोज–१८ गते नगरपालिकासँग सम्झौता गरे पनि उक्त सडक ठेकेदारमार्फत गुणस्तरहीन ढलान गरिएको छ । सडक ढलान गुणस्तरहीन भएको भन्दै गत माघ–२ गते स्थानीय जयप्रकाश राईले जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएपछि बनेको छानबिन समितिले ढलान गरिएका सडकको क्वान्टिटी पूरा भएपनि क्वालिटी नभएको भन्दै भुक्तानी दिन नमिल्ने बताएको छ ।

तपाईको प्रतिक्रिया