आगामी चुनावमा खोटाङका एक लाख ४२ हजार ७९२ जनालाई मताधिकार

Halesi Khabar

खोटाङ, ४ असोज । खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या ९६० घटेको छ । गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदातालेमात्र मतदान गर्न पाउने भएका छन् ।

आसन्न निर्वाचनमा पुरुष ७४ हजार ९२७ र महिला ६७ हजार ८६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । गत असार–१ गतेदेखि साउन–१९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमा एक हजार २७५ नयाँ मतदाता थप हुँदा पनि मतदात सङ्ख्या घटेको हो ।

मृत्यु भएका, बसाइँ सरेका र दोहोरो नाम भएका मतदाताको लगत कटाइएका कारण स्थानीय तहको निर्वाचनमा कायम रहेको मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । करिब ७०० मतदाता बसाइँ सरेको, ४०० को हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा दोहोरो नाम भएका मतदाताको नाम हटाइएको कार्यालयले जनाएको छ ।

एकजना प्रतिनिधिसभा र दुईजना प्रदेशसभा सांसदको लागि मतदान हुने खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र रहेका छन् । जिल्लाका विभिन्न पालिकाहरुबाट चारवटा मतदानस्थल थप गर्ने प्रस्ताव आएपनि प्राविधिक कारणले नयाँ मतदानस्थल थप गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

यसैबीच, आगामी निर्वाचनका लागि आफूलाई टिकट दिन माग गर्दै जिल्लाका नेताहरु राजधानी काठमाडौँ पुगेका छन् । जिल्ला पार्टी समितिको बैठकबाट आ–आफ्नो नाम लेखाएर सिफारिस गराएका नेताहरु अहिले टिकटका लागि काठमाडौँस्थित केन्द्रीय नेताहरुको घरदैलोमा धाउनेक्रम जारी छ ।

दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल र नेकपा (एमाले) एक्लैबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) चुनावी तालमेलका कारण जित सुनिश्चित हुने अपेक्षासहित आ–आफ्नो पक्षमा टिकट ल्याउने होटबाजीमा छन् ।

तपाईको प्रतिक्रिया