‘आत्महत्या समस्याको समाधान होइन, शुरुवात हो भन्ने बुझाउनुपर्छ’

Halesi Khabar

खोटाङ, २ असोज । आत्महत्य रोकथाम तथा न्यूनीकरण सम्बन्धी दिक्तेलमा भएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले समयमै लक्षण पहिचान गर्न सके अधिकांश आत्महत्याका घटना रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय खोटाङले आज (आइतबा) दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समयमै लक्षणहरु पहिचान गर्न सके अधिकांश आत्महत्याका घटना रोक्न सकिने बताएका हुन् ।

जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नितु लामाले आत्महत्या समस्याको समाधान होइन, समस्याको शुरुवात हो भनेर बुझाउन सकेमा अधिकांश आत्महत्यका घटना रोकिने दाबी गर्नुभएको छ । “कुनै मानिसले आत्महत्या गर्दै छ भन्ने कुरा आफन्त तथा छिमेकीलाई अगाडि नै थाहा हुन्छ । त्यसको लक्षण हामीले थाहा पाउन सकियो र समयमै सहयोग गरियो भने उसलाई बचाउन सकिन्छ” उहाँले भन्नुभयो, “मानसिक रोग भएको, सधै दुःख र पीडाकोमात्र कुरा गर्ने, पटक–पटक मर्ने कुरा गरिरहने लगायत आत्महत्याका लक्षणहरु हुन् । त्यसैले त्यस्ता व्यक्तिहरुलाई एक्लै नछाडी सम्झाइ÷बुझाइ गर्न सकेका अधिकांश व्यक्तिलाई आत्महत्याबाट बचाउन सकिन्छ ।”

डा. लामाले अधिकांश मानसिक रोग भएका व्यक्तिले आत्महत्या गरेको पाइएकाले आफ्नो गाउँ, टोल तथा छिमेकमा त्यस्ता बिरामीहरु देखिएमा तत्काल स्वास्थ्य संस्थाहरुका उपचारमा पठाउन आग्रहसमेत गर्नुभएको छ । मानसिक रोग भएका व्यक्तिलाई औषधि÷उपचार गर्ने, सकारात्मक सोचको विकास गर्ने, नियमित शारीरिक व्यायाम, योग तथा खेलकुदमा सामेल हुने वातावरण बनाउनुका साथै नयाँ स्थानमा घुमफिर गर्ने तथा मनोरञ्जन दिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जिल्लामा आत्महत्या दर बढ्दोक्रममा देखिएकाले न्यूनीकरणमा सबैले चासो दिनुपर्ने बताउनुभयो । “आत्महत्या न्यूनीकरण गर्न डिप्रेसन, मद्यपान र सिजोफ्रेनिया जस्ता मानसिक समस्या भएका बिरामीको उपचार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पूर्णरुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधिद्धारा उपचार गर्नुका साथै परिवारको मायाँ र समाजको साथले एउटा मानिसलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ ।”

अन्तरक्रिया कार्यक्रममा प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षको अवधिमा जिल्लाका १८३ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा ४९ जना, आर्थिक वर्ष २०७७÷०७८ मा ६७ जना, आर्थिक वर्ष २०७८÷०७९ मा ६७ जनाले आत्महत्या गरेको गरेका छन् ।

आर्थिक वर्ष २०७९÷०८० मामात्रै नौँ जनाले आत्महत्या गरिसकेको प्रहरी निरीक्षक रायले जानकारी दिनुभएको छ । तीन वर्षको अवधिमा खोटाङमा १८३ जनाले आत्महत्या गरेकामा ११४ जना पुरुष र ६९ जना महिला रहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी ४१ जनाले आत्महत्या गरेका छन् । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा आठ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै, जन्तेढुङ्गा, साकेला र केपिलासगढी गाउँपालिकामा ११÷११ जनाले आत्महत्या गर्दा हलेसी तुवाचुङ नगरपालिकामा २३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०, रावाबेँसी गाउँपालिकामा १४, खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकामा २२÷२२ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रहरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, सरकारी तथा गैंरसकारी कार्यालयका प्रमुख, शिक्षक, विद्यार्थी, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । दिवसको अवसरमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी प्लेकार्ड बोकेर दिक्तेलबजारको रत्नपार्कदेखि हाटडाँडासम्म सचेतनामूलक ¥यालीसमेत निकालिएको थियो ।

तपाईको प्रतिक्रिया