बाईस महिने बालिका हराएको १३ घण्टापछि झाडीभित्र सकुसल भेटियो

Halesi Khabar

खोटाङ, १ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएको १३ घण्टापछि झाडीभित्र सकुसल भेटिएकी छन् । घरमा कोही नभएको समयमा हिजो (शुक्रबार) दिउँसो २ः३० बजे हराएकी स्नेहा आज (शनिबार) बिहान ८ः३० बजे घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै बसिरहेको सकुसल भेटिएकी हुन् ।

राम्रो बोल्न र हिड्नसमेत नसक्ने स्नेहा घाँस काट्न जानुभएकी स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेको अवस्था सकुसल फेला पार्नुभएको निवर्तमान वडाध्यक्ष एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता भीम राईले बताउनुभयो । “बालिकाको अवस्था हेर्दा सकुसल रहेको देखिन्छ”, उहाँले भन्नुभयो, “रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ ।”

घाँस काट्ने जानेक्रममा वनमारा, विभिन्न प्रजातिका बोटबिरुवा र खर (घरको छाना छाउन प्रयोग गरिने घाँस) रहेको झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनलालाले जानकारी दिनुभयो । “गाउँमा बच्चा हराएको हिजोदेखि नै हल्ला चलेको थियो”, उहाँले भन्नुभयो, “बिहान डोको लिएर घाँस काट्न जाँदा झाडीभित्र सानो नानी रोएको आवाज सुनेँ ! हेर्न जाँदा एक्लै बसिरहेकी देखेँ ! बोलाउँदा आउन नसकेपछि आफै झाडीभित्र गएर बोकेर बाहिर ल्याएँ ! अनि बच्चीको परिवारलाई बोलाएर आएपछि उनीहरुलाई बुझाएकी छु ।”

राम्रो बोल्न र हिड्नसमेत नसक्ने बालिका हराएको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी राभर खोजी कार्यमा लागेका थिए । बुबा उमेश छिमेकीकामा पितृ कार्य तथा आमा प्रिती राई ठुली छोरीलाई विद्यालय लगेर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ ।

घर वरपरबाहेक अन्यत्र डुल्न तथा राम्ररी बोल्न नसक्ने बालिका घरदेखि करिब साढे दुई किलोमिटर टाढा बाटोसमेत नभएको एकान्त ठाउँमा एक्लै झाडीभित्र भेटिएपछि आश्चर्यमा परिएको वडाध्यक्ष भगेश्वर राईले बताउनुभयो । “घटना हेर्दा हामीसमेत आश्चर्य तथा सशङ्कित भएका छौँ”, उहाँले भन्नुभयो, “यथार्थ के भएको हो ? प्रहरीलाई अनुसन्धान गर्न लगाएका छौँ । यथार्थ के भएको भन्ने प्रहरीको प्रतिवेदन आएपछि मात्र थाहा हुन्छ ।”

देशभर बालबालिका चोरी भइरहेको हल्ला चलेको समयमा खोटाङको नुनथलामा २२ महिने बालिका हराएपछि जिल्लाभर त्रास फैलिएको थियो । हराएकी बालिका भेटिए पनि उक्त घटनालाई स्थानीय बासिन्दाले स्वभाविकरुपमा भने लिएका छैनन् ।

नुनथलाको घटनाका बारेमा यथार्थ बुझ्न प्रहरीलाई निर्देशन दिइएको जिल्ला सुरक्षा समिति खोटाङका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताउनुभयो । प्रजिअ सेडाईले सामाजिक सञ्जालमा आएको हल्लाको पछाडि नलाग्न र आफ्ना बालबालिको हेरचाहमा ध्यान दिन जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया