नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौध विद्याका लागि १५८ जना खेलाडी छानियो

Halesi Khabar

खोटाङ, १४ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १५८ जना खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा चौध खेलका लागि १५८ जना खेलाडी र व्यवस्थापन तथा अफिसियल ३० गरी १८८ जनाको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो ।

प्रमुख केसीका अनुसार भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा चार, तेक्वान्दोमा २२, सितोरियो कराँतेमा २९, टेबलटेनिसमा चार, फुटबलमा ३२, ब्याडमिन्टनमा सात, भारोत्तलनमा दुई, उसुमा दश जना खेलाडी छनोट भएका छन् । यस्तै, बक्सिङमा तीन, पौडीमा दुई, शारीरिक सुगठनमा एक र सफ्ट टेनिसमा दुई खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रमुख केसीले बताउनभयो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दश विद्याका खेलाडीले सहभागी जनाएको खोटाङमा यो वर्ष सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा चार खेल थपिएको छ । शारीकि सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिस थपिएको हो ।

यो वर्ष जिल्लाबाट नयाँ खेलसँगै पहिले सहभागी गराइएको खेलमा पनि खेलाडीको सङ्ख्या बढाइएको छ । अघिल्लो वर्ष एथ्लेटिक्समा आठ जनाको सहभागिता जिल्लाबाट यो वर्ष २२ जना खेलाडीले सहभागिता जनाउनेछन् ।

जिल्लाबाट छनोट भएका खेलाडीहरुले अब प्रदेशस्तरीय छनोट प्रतियोगितामा भाग लिनेछन् । प्रदेशस्तरीय छनोट प्रतियोगिता कुन–कुन जिल्लामा हुने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको छैन ।

यद्यपि, आगामी भदौ–१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगिता बिराटनगर, धरान, इटहरी लगायत ठाउँहरुमा सञ्चालन हुने जनाइएको छ । सितोरियो कराँते खेलको प्रदेशस्तरीय प्रतियोगिता भने, खोटाङमै हुने जनाइएको छ ।

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यी कभर्डहलमा सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि जिल्लामा तयारी तीव्र पारिएको सितोरियो कराँते सङ्घ खोटाङले जनाएको छ । सितोरियो कराँते खेलको प्रदेशस्तरीय प्रतियोगिता खोटाङमा सञ्चालन हुने भएपछि जिल्लाबासी उत्साहित भएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ गतेदेखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने आयोजकले जनाएको छ । खेलाडी छनोटका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम कम हुँदा जिल्लामा व्यवस्थापन गर्न समस्या भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया