जसपा खोटाङका अध्यक्षसहित ३९ जना नेताद्धारा पार्टी परित्यागको घोषणा

Halesi Khabar

खोटाङ, ३० साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) खोटाङका अध्यक्षसहित ३९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई साँगठानिक र सैद्धान्तिक रुपमा बिघटनको दिशातर्फ लगेको भन्दै जिल्ला अध्यक्ष टङ्कबहादुर थापासहित ३९ जना नेता तथा कार्यकर्ताले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय अनुशासन आयोगका सदस्य बीरबहादुर राई, १ नं. प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला उपाध्यक्ष एवम् प्रदेश समिति सदस्य मणि राई, किराँत राष्ट्रिय समिति सदस्य देवकुमार राई, गीता श्रेष्ठ, जिल्ला उपाध्यक्ष नविनकिशोर राई र बसन्ती राई रहनुभएको छ । यस्तै, जिल्ला सचिव जीवराज पोखरेल, सहसचिव आशिष राई, कोषाध्यक्ष सावित्री राई, जिल्ला सल्लाहकार समिति सदस्य पञ्चशेर राई, सचिवालय सदस्य एवम् समाजवादी युवा सङ्घका प्रदेश उपाध्यक्ष दीपककुमार तामाङ, सचिवालय सदस्य प्रवचन राई, मनोज राई, सचिवालय सदस्य एवम् ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, सचिवालय सदस्य युवराज अधिकारी, बाबुराम कार्की, सुशिला निनाम, जुलन राई, ध्यानकुमार राई, तीलक मुदेल र सरोज राई रहनुभएको छ ।

यसैगरी, जिल्ला सदस्यहरुमा सविन राई, भूपराज राई, चित्रकुमार कार्की, विनोद राई, जीतकुमारी परियार, भगवती चाम्लिङ, देवान राई, कुमार श्रेष्ठ, जिल्ला सदस्य एवम् समाजवादी युवा सङ्घका जिल्ला सदस्य किरण राई, सुजन राई, जिल्ला सदस्य एवम् ऐसेलुखर्क उपाध्यक्ष कृष्ण राई, दिप्रुङ पालिका समिति सदस्य सन्तोष तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी वडा समिति अध्यक्ष दीपककुमार तामाङसहित सबै, सोही नगरपालिकाका वडा नं. ५ लफ्याङ वडा समिति अध्यक्ष भूपराज राईसहित सबै, गैर भूगोल विशेष समिति सदस्य गजेन्द्र राई र तेञ्जु तामाङ रहनुभएको छ ।

समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानका लागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यमबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने प्रतिवद्धता व्यक्त गर्दै सामुहिक रुपमा पार्टी परित्याग गरिएको अध्यक्ष थापाले बताउनुभएको छ । “पार्टीका केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन सकेन”, उहाँले भन्नुभयो, “नेतृत्वले साँगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई बिघटनको दिशातर्फ लगेकाले औपचारिक रुपमा पार्टी छाड्न बाध्य भएका हौँ ।”

पार्टी परित्याग गर्ने जिल्ला अध्यक्ष थापासहित अधिकांश नेताहरु नेकपा (माओवादी केन्द्र)मा समाहित हुने तयारी भइरहेको समाचार स्रोतले जनाएको छ । “कसलाई कुन पदमा राख्ने भन्ने सल्लाह भइरहेको छ”, समाचार स्रोतले भन्यो, “प्राविधिक विषय टुङ्ग्याएर भदौ–१ गते औपचारिक रुपमा माओवादी केन्द्रमा समाहित गर्ने निर्णय भएको छ ।”

यसअघि नै पार्टी परित्यागको घोषणा गर्नुभएका केन्द्रीय सदस्य एवम् कृषिविज्ञ मदन राई, केन्द्रीय सदस्य सुर्यबहादुर राई र १ नं. प्रदेश समिति सदस्य मोहन गुरुङले आफूहरु डा. बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीमा समेत नरहने र तत्काल कुनै पनि पार्टीमा नखुल्ने बताउनुभएको छ । “हामी केही नेताहरु कुनै पनि पार्टीमा प्रवेश गर्ने तयारी छैन”, पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिनुहुँदै सुर्यबहादुर राईले भन्नुभयो, “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपाकि समावेशिता लगायत प्राप्त उपलब्धिको रक्षा तथा भ्रष्टाचार न्यूनीकरणका लागि स्वतन्त्र रुपमा हाम्रो खबरदारी रहन्छ ।”

उता, जिल्ला अध्यक्ष थापासहित बहुमत कार्यसमितिले पार्टी परित्याग गरेपछि उपाध्यक्ष पिके खम्बुको नेतृत्वमा बैठक बसेर पार्टी पुनः गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । यसका लागि सोमबार नै बैठक बोलाइएको जसपा खोटाङले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा जसपाको ५३ सदस्यीय जिल्ला सचिवालय समिति गठन भएको थियो । डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी पार्टी नेपालबीच एकता भएपछि बनेको जनता समाजवादी पार्टी नेपालमा खोटाङका छ जना नेता केन्द्रीय सदस्य बन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया