खोटाङ, २७ साउन । धार्मिक तथा पर्यटकीयस्थलहरु भुलभुले दूधकुण्ड, भालुखोला र साप्सुढापमा भव्यरुपमा साँस्कृतिक मेला लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोला, वडा नं.–६ नेर्पाको भुलभुले दूधकुण्ड र वडा नं.–९ निर्मलीडाँडाको साप्सुढापमा ऋषितर्पणी पूर्णिमाको अवसरमा शुक्रबार बिहानदेखि भव्य साँस्कृतिक मेला लागेको हो ।
वर्षमा एक पटक लाग्ने मेला भर्न र दर्शन गर्न जिल्लाका विभिन्न ठाउँबाट स्थानीय भुलभुले दूधकुण्ड, भालुखोला र साप्सुढापमा पुगेका छन् । देउधामहरुमा लाग्ने साँस्कृतिक मेला खेतीपातीको काम सकिएपछि लाग्ने भएकाले पनि पूजाआजा गर्नेको भीड हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
किराँत र हिन्दु धर्मावलम्बीको धार्मिकस्थलका रुपमा रहेको भुलभुले दूधकुण्डमा शिव, गणेश, बुढानिलकण्ठ, तीनकन्यदेवी, सिद्धसिकारी र यलम्बरको पूजाआजा गर्नका आन्तरिक तथा बाह्य दर्शनार्थी आउने गरेका व्यवस्थापन समितिले जनाएको छ । चिताएको मनोकाङ्क्षा पूरा हुने बिश्वासमा भाकल गर्ने र दर्शन गर्नका लागि भुलभुले दूधकुण्डमा लाग्ने मेलामा प्रायः बुढापाका र केटाकेटीदेखि युवायुवती आउने गरेका छन् ।
पछिल्लो समयमा आन्तरिक तथा बाह्या पर्यटकको गन्तव्य थलो बनेको भुलभुले दूधकुण्डमा दिन दिनभर ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउदै धामीहरु नाच्ने गर्छन् । मेलामा धामीहरुका साथमा आएका आफन्तले धामी÷झाँक्रीसँगै गीत गाउँदै र नाच्दै रमाईलो गरेको दृश्य अवलोकन गर्ने उत्तिकै हुन्छन् ।
परापूर्व कालदेखि जलकन्य देवीको पूजाआजा गरिँदैआइएको भालुखोलामा धामी÷झाँक्री गीत तथा ढोल, ढ्याङ्ग्रो र झ्याम्टाको आवाजले गुञ्जयमान भएको पुजारी दीर्घराज राईले बताउनुभयो । प्रचार–प्रसारको अभावमा ओझेलमा परेको भालुखोलामा धार्मिक पर्यटन प्रबद्र्धनका लागि वि.सं. २०४५ सालमा देवस्थलकारुपमा विकास गरिएको हो ।
उता, ऋषितर्पणी पूर्णिमाको अवसर पारेर धार्मिक तथा पर्यटकीयस्थल साप्सुढापमा पनि ठूलो मेला लागेको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता मिलनचन्द्र राईले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लगानीमा स्तरोन्नति गरिएको साप्सुढालमा विशेषगरी खोला तथा सिद्धसिकारीको पूजा गर्दै धामी÷झाँक्रीले शक्ति आर्जनका लागि प्रार्थना गर्ने गरेका छन् ।