एकपटक पानी नबोकी स्कूल जाने साइत जुर्दैन !

Halesi Khabar

खोटाङ, १८ साउन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम कोटगैराका १४ वर्षीय युकेश राईले कुवाको पानी डोकोमा बोकेको छ वर्ष भयो । दुर्छिम मावि कक्षा–९ मा अध्ययनरत युकेशलाई बिहान एक पटक पानी नबोकी स्कूल (विद्यालय) जाने साइत जुर्दैन ।

डोकोभरि गाग्री र बोत्तलहरु बोकेर धारापानी पुग्न र त्यहाँबाट पानी भरेर २० मिनेटको उक्कालो छिचोल्नु युकेशको बाध्यता हो । युकेशले डोकोमा बोकेको पानी आठजनाको परिवारले उपभोग गर्छन् ।

युकेश जस्तै त्यस गाउँका अधिकांश बालबालिकाको दैनिकी स्कूल जानुभन्दा अगाडि पानी बोक्नेमा बित्छ । घरका अभिभावक खेतीपातीको काममा जाने र बालबालिकाले पानीको जोहो गर्नु कोटगैराका बालबालिकाको दैनिकी हो ।

उसो त त्यही वडाको राँभूबासीले पनि पुस्तौँदेखि पानीको सास्ती खेप्दै आएका छन् । स्थानीय ५९ वर्षीय अमृतबहादुर राईका अनुसार यस क्षेत्रका अधिकांशले २÷३ घण्टाको बाटो पानीकै लागि धाउनुपर्ने अवस्था छ ।

पानीका मुहानहरु सुक्दै जानु र निर्माणाधीन खानेपानी आयोजनाहरु पूरा नहुँदा यो कष्ट झेल्नु परेको उहाँको भनाइ छ । यस क्षेत्रमा प्राकृतिक विपत्तिहरु आइपरेको र यसले पानीको मुहानमा पनि समस्या पैदा गरेको राईले सुनाउनुभयो ।

“२०४१ सालमा बाढी÷पहिरो आयो । त्यतिखेर पानीको मुहान फुट्यो । तर, २०४५ सालको भूकम्पले फेरि पानीको मुहानहरु सक्यो”, राईले भन्नुभयो, “फेरि २०७२ सालको भूकम्पले त सुख्खाराम बनायो ।”

यो ठाउँमा पानी आपूर्तिका लागि सरकारले रु एक अर्बको आयोजना बिस्तारको काम शुरु गरे पनि उक्त आयोजनाको काम अपुरै छ । दूधकोशीको पानी पम्पिङ गरेर गाउँमा वितरण गर्ने आयोजना ठेकेदारको लापरबाहीले अलपत्र अवस्थामा छ ।

वि.सं. २०६७ सालमा सुख्खाग्रस्त क्षेत्रमा घोषणा गरिएको हलेसी तुवाचुङ गरपालिकाको अधिकांश वडामा खानेपानीको समस्या छ । त्रिधार्मिकस्थल हलेसीमा ट्याङ्करमा बोकेर ल्याएको पानी खरिद गरेर उपभोग गर्नुपर्ने बाध्यता छ ।

नेपाल सरकारको गौरवको आयोजना अलपत्र रहेको अवस्थामा दुर्छिमस्थित कोटगैरा र राँभूका स्थानीयलाई लक्षित गरेर जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाले मुहान संरक्षणका लागि बजेट उपलब्ध गराएर होस्टेमा हैँसे गरेपछि केही राहत मिलेको स्थानीय बताउछन् । नेपाल सरकार तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा धारापानी राँभु, धारापानी–२, धारापानी–३ र छापमुल पँधेरो मुहान संरक्षणका लागि रु चार लाख बजेट उपलब्ध गराएको हो ।

आयोजनाबाट दुई गाउँका १२४ घरधुरी उपभोक्तालाई खानेपानीको सुविधा मिलेको राँभूकी ६४ वर्षीया नैनसरी राईले सुनाउनुभयो । “पहिलेभन्दा अहिले त कति हो कति पानीको सुविधा छ”, राईले भन्नुभयो, “पहिले पानी लिनका लागि कुवामा गएर लाइन लाग्नुपथ्र्यो । अहिले अधिकांशको घरमा पानीको धारा पुगेको छ ।”

तर, त्यस क्षेत्रका पानीका मुहानहरु खुला राखिएकाले वर्षादको समयमा भलबाढी र अन्य फोहरले पानी दुषित हुने देखिएको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी देखिएको छ ।

पानीको स्रोत बढाउन र त्यसलाई दिगो राख्न समुच्च खाडल (रिचार्ज पोखरी)हरुसमेत निर्माण गरिएको छ । ताराखसे सामुदायिक वन क्षेत्रको (ब्लक १ र २), सिमसार, खिरिम्टे र सारुवा भूइँचुङ भन्ने ठाँउमा एक हजार ८५० घनमिटर रिर्चाज पोखरी निर्माण गरिएको राँभूमा सञ्चालित हाम्रो साना किसान सहकारी संस्था दुर्छिमका अध्यक्ष मनकुमार राईले बताउनुभयो ।

आमा समूह तथा स्थानीयको सहभागितामा उक्त रिचार्ज पोखरीहरु खनिएको पोखरी निर्माणमा सहभागी कौशिला चाम्लिङले बताउनुभयो । रिचार्ज पोखरीले पानीको स्रोत बढेको राँभूकै सर्वधन राईको भनाइ छ ।

“रिचार्ज पोखरीले पानीको स्रोत बढ्छ भन्ने जानकारी थिएन”, सर्वधनले भन्नुभयो, “पोखरी निर्माण भएपछि पानीको मात्रा बढेको छ, अहिले त धान रोप्न पनि सजिलो भएको छ ।”

रिचार्ज पोखरी निर्माण, मुहान संरक्षण र सिचाइँ योजनाका लागि आयोजनाको १९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको सहकारीका अध्यक्ष राईको भनाइ छ । उक्त योजनाका लागि स्थानीयले २५ प्रतिशत श्रमदान गरेको राईले बताउनुभयो ।

स्थानीय ६० घर उपभोक्ताका लागि लक्षित गरेर वाखिला घामपानीमा सिचाइँ पोखरी निर्माण गरिएको छ । १५ मिटर लम्बाई, पाँच मिटर चौडाई र डेढ मिटर गहिराईको सिचाइँ पोखरी निर्माण गरिएको उपभोक्ताले जनाएको छ ।

तपाईको प्रतिक्रिया