महंगी र भ्रष्टाचारको विरोधमा भव्य जनप्रदर्शन

Halesi Khabar

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको वताउनुभएको छ ।
नेकपा (एमाले) द्वारा चर्को महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनको समापनमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो ।
महासचिव पोखरेलले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको वताउनुभयो ।
अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने एमालेको धारणा रहेको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।नेकपा (एमाले) को सरकारका पालामा मुलुकको आर्थिक अवस्था सुदृढ रहेको, विकास र समृद्धिको यात्रा अगाडि बढेको चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो–परमादेशी गठबन्धन सरकार गठन भएयता मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको छ ।  सबै आर्थिक सूचक नकारात्मक रहेका छन् । मुद्रास्फिति ८.५ प्रतिशतमा पुगेको छ । व्यापार घाटा बढ्दो छ । यही सरकार कायम रहे मुलुक एकदिन श्रीलंकाको अवस्थामा पुग्ने छ ।
महासचिव पोखरेलले देशको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको र त्यसका लागि पार्टी सक्षम रहेको वताउनुभयो ।
बर्तमान परमादेशी गठबन्धनले बहुमतका आधारमा संसदबाट देशहित विपरीतका काम गर्न थालेकाले संसद तत्काल विघटन गरी नयाँ निर्वाचनमा जानुपर्ने भनाई महासचिव पोखरेलले राख्नुभयो ।    जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनवटै जिल्ला कमिटी, बाग्मती प्रदेश संगठन कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र पार्टीका २२ जनसंगठन, सम्पर्क समन्वय कमिटी, पार्टीका केन्द्रीय निकाय तथा विभागका सदस्यहरूको सहभागिता रहेको थियो ।
जनप्रदर्शनमा महंगी नियन्त्रण गर्, खाद्यवस्तुमा भएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्, भ्रष्टाचार नियन्त्रण गर्, नागरिकतामा विधेयक खारेज गर्, रासायनिक मलको व्यवस्था गर्, उपभोक्तालाई राहत देउ लगायतका नारा लगाइएको थियो ।

तपाईको प्रतिक्रिया