त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला शुरु

Halesi Khabar

खोटाङ, २ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला शुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको पहिलो सोमबारबाट शुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत गेरुबस्त्रधारी दर्शनार्थी हलेसी आउने गरेका छन् । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा लाग्ने बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चिनको तिब्बत लगायतबाट दर्शनार्थी आएका छन् ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् ।

प्राकृतिक रुपले समेत विश्व प्रसिद्ध हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकांक्षा पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटलहरु भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहापोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङ्गको पहिरनमा सजिएका पुरुषको समेत चहलपहल बढेको छ ।

हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामुहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै देखिन्छ । स्थानीयका अनुसार हलेसी र बाराहापोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने पाँच÷छ वर्षअघि देखि मात्र शुरु भएको हो ।

तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । तराईबाट सिधै कटारी–घुर्मी–जयरामहुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमको अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको संख्या वर्षेनी बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लवमा आवद्ध पदाधिकारी बिहानैदेखि खटिएका छन् । तराई लगायत राजधानी काठमाडौँबाट सिधै यातायातमार्फत आउने दर्शनार्थी सोही दिन फर्कने गरेका छन् ।

तपाईको प्रतिक्रिया