दश स्थानीय तहमा रु ४५ करोड ७६ लाख ५५ हजार बेरुजु

Halesi Khabar

खोटाङ, २ साउन । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा खोटाङ जिल्लाका दश वटै स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा रु ४५ करोड ७६ लाख ५५ हजार बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिबेदनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रु सात करोड ५२ लाख ९७ हजार बेरुजु रहेको औँल्याइएको छ । रु दुई अर्ब तीन करोड ५३ लाख ७२ हजार आर्थिक कारोबार भएको रकमको लेखा परीक्षण गर्दा तीन दशमलव ७० प्रतिशत बेरुजु देखिएको हो ।

अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको रु सात करोड ६४ लाख ४१ हजारसहित आर्थिक वर्ष २०७७÷०७८ मा कुल रु एक अर्ब छ करोड २५ लाख २४ हजार आय भएको नगरपालिकामा रु ९७ करोड २८ लाख ४८ हजार खर्च भएको थियो ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा रु पाँच करोड ४४ लाख ५१ हजार बेरुजु देखिएको छ । लेखा परीक्षण रकम रु एक अर्ब २० करोड तीन लाख २८ हजार रहेको हलेसी तुवाचुङमा चार दशमलव ५४ प्रतिशत बेरुजु देखाइएको छ ।

गत वर्षको जिम्मेवारी सरेर आएको रु पाँच करोड ५१ लाख दुई हजारसहित रु ६० करोड १२ लाख ५४ हजार आम्दानी भएको सो नगरपालिकामा रु ५९ करोड ९० लाख ७४ हजार खर्च भएको थियो ।

ऐसेलुखर्क गाउँपालिकामा रु दुई करोड ३९ लाख २८ हजार बेरुजु भएको देखिएको छ । रु नौँ करोड ६९ लाख ५७ हजार आर्थिक कारोबारको लेखा परीक्षण गर्दा दुई दशमलव ६४ प्रतिशत बेरुजु देखिएको हो ।

केपिलासगढी गाउँपालिकामा रु पाँच करोड छ लाख १२ हजार बेरुजु देखिएको छ । महालेखाले रु ८० करोड २१ लाख ९९ हजारको लेखा परीक्षण गर्दा छ दशमलव ३१ प्रतिशत बेरुजु औल्याइएको हो ।

अघिल्लो वर्ष जिम्मेवारी सरेर आएको रु पाँच करोड चार लाख २४ हजारसहित जम्मा रु ४१ करोड ६८ लाख ५१ हजार आय भएको केपिलासगढीमा रु ३८ करोड ५३ लाख ४८ हजार खर्च भएको थियो ।

यस्तै, खोटेहाङ गाउँपालिकामा रु तीन करोड तीन लाख ७४ हजार बेरुजु देखिएको छ । महालेखाले रु एक अर्ब दुई करोड २४ लाख ६७ हजारको लेखा परीक्षण गर्दा दुई दशमलव ९७ बेरुजु भेट्टाएको हो ।

जिम्मेवारी सरेर आएको रु चार करोड २० लाख ११ हजारसहित जम्मा ५३ करोड ८० लाख ३१ हजार आम्दानी भएकोमा ४८ करोड ४४ लाख ३६ हजार खर्च भएको थियो ।

जन्तेढुङ्गा गाउँपालिकामा रु पाँच करोड ३६ लाख ८२ हजार बेरुजु देखाइएको छ । रु ७८ करोड ६६ लाख ५३ हजारको लेखा परीक्षण गर्दा छ दशमलव ८२ प्रतिशत बेरुजु देखिएको हो ।

जिम्मेवारी सरेर आएको रु दुई करोड ५९ लाख २३ हजार सहित जम्मा रु ३८ करोड ५८ लाख २२ हजार आम्दानी भएको गाउँपालिकाले रु ४० करोड ८ लाख ३१ हजार खर्च गरेको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रु तीन करोड ३७ लाख ८३ हजार बेरुजु देखिएको छ । रु एक अर्ब सात करोड ६२ लाख ११ हजारको लेखा परीक्षण गर्दा तीन दशमलव १४ प्रतिशत बेरुजु भेट्टाइएको थियो ।

जिम्मेवारी सरेर आएको ८२ लाख ७१ हजार सहित जम्मा ५९ करोड २७ लाख ४ हजार आय भएको गाउँपालिकाले ४८ करोड ३५ लाख ७ हजार खर्च गरेको थियो ।

यस्तै, बराहपोखरी गाउँपालिकामा रु चार करोड ३१ लाख ८५ हजार बेरुजु पाइएको छ । रु ६४ करोड ८८ लाख २९ हजारको लेख परीक्षण गर्दा छ दशमलव ६६ प्रतिशत बेरुजु देखिएको हो ।

जिम्मेवारी सरेर आएको रु छ करोड ९८ लाख ८२ हजारसहित रु ३० करोड ८४ लाख ८० हजार आम्दानी भएको बराहपोखरीले रु ३४ करोड तीन लाख ४९ हजार खर्च गरेको थियो ।

रावाबेँसी गाउँपालिकामा रु दुई करोड ४९ लाख ३३ हजार बेरुजु औंल्याइएको छ । महालेखाले रु ७४ करोड ३८ लाख ९० हजारको लेखा परीक्षण गर्दा तीन दशमलव ३५ बेरुजु भेटेको हो ।

अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको रु चार करोड ५८ लाख ३९ हजार सहित जम्मा ३६ करोड ९८ लाख ७० हजार आय भएको गाउँपालिकाले ३७ करोड ४० लाख २० हजार खर्च गरेको थियो ।

साकेला गाउँपालिकामा रु एक करोड ४६ लाख ८६ हजार देखिएको छ । रु ६८ करोड ९९ लाख ९५ हजारको लेखा परीक्षण गर्दा दुई दशमलव १३ प्रतिशत बेरुजु पाइएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

जिम्मेवारी सरेर आएको रु दुई करोड ६३ लाख ५९ हजारसहित जम्मा रु ३४ करोड ६० लाख २० हजार आम्दानी भएको गाउँपालिकामा रु ३४ करोड ३९ लाख ७५ हजार खर्च भएको थियो ।

तपाईको प्रतिक्रिया