खोटाङ, २३ असार । यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब चार करोड मुल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको तथ्याङ्क अनुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो ।
लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैको बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिक्टन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । “हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “मकैबालीमा भएको क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।”
रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएका मकैबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात वडा रहेको उक्त दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तीन हजार ५०० रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबाली क्षति भएको हो ।
यस्तै, दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा दुई हजार ५००, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३००, हलेसी तुवाचुङ नगरपालिकामा २५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनलाई लगाइएको मकैबालीमा क्षति भएको जनाइएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहमा हावाहुरीको असर सामान्यमात्र रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभएको छ ।
जिल्लाको प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसानहरु चिन्तित भएका छन् । मकैबालीमा शुरुको चरणमा फौकी कीराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसानहरु चिन्तित बनेका हुन् ।
सुख्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष खडेरी र यस वर्ष हावाहुरीले मकैबाली नष्ट गरेको स्थानीयबासी एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता तामन राईले जानकारी दिनुभयो । मकैबाहेक अन्य बाली कम उत्पादन हुने हलेसी तुवाचुङ नगरपालिकाका स्थानीय बासिन्दालाई गत वर्ष नगरपालिकाले रु एक करोड ४० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरेको थियो ।
हावाहुरीले जिल्लामा मकैबालीसँगै विभिन्न प्रजातिका फलफूलमा समेत ठूलो क्षति गरेको किसानहरुले बताएका छन् । फलफूलमा हावाहुरीबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्र खोटाङले जानकारी दिएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३९ हजार ८४५ हेक्टर जमिनमा किसानले मकै खेती गर्दै आएका छन् । जिल्लाका कूल ७५ हजार ६५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७ हजार ४१७ हेक्टर जमिनमा विभिन्न अन्नबालीको खेती गर्ने गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिनुभयो ।
समयमा वर्षा भएकाले बिगतको तुलनामा यस वर्ष मकैबाली उत्पादनमा वृद्धि हुने किसानहरुले अनुमान गरेका थिए । तर, विभिन्न प्रकोपका कारण मकैबाली भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि किसान चिन्तित बनेका छन् ।