किराँत ऐतिहासिकस्थल मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

Halesi Khabar

खोटाङ, ७ असार । धार्मिक तथा किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवाहरु रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो ।

‘फूलैफूलको पहाड’ बनाउने अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका ५०० बिरुवा रोपिएको छ । मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउन आवश्यक गुरुयोजना तयार पारेर साझा सपना पुरा गरिने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताउनुभयो ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना छ । किराँत ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी परिकल्पना गरिएको छ ।

फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । “सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ”, उहाँले भन्नुभयो, “यहाँ तीनवटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ । फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यापर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको नेतृत्व सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङले गरेको छ । भविष्यमा यसको फाइदा नगरपालिकालाई हुनेछ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा वि.सं. १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साँगीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

किराँत ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।

उसबेला रणवीर राजाका रैतिहरुले दशै मान्नको लागी ल्याएका राँगा बोकाहरु राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडी पूजाआजा गर्ने ठाँउ छ । त्यसको केहीमाथी राजाको दरवार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाँउ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाँउ रहेको छ भने, गढीवरीपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका तिज लगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टीलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

उच्च हिमश्रृङ्खला तथा तराईका समथर भूभागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भुइचो लाग्ने गरेको छ । बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् ।

मझुवाको अर्थ माझ अर्थात बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।

चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाँउको नाम मझुवागढी भनिएको जानाकारहरु बताउँछन् । समुन्द्री सतहदेखि करीब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढीहरु प्रस्ट देखिन्छ ।

माझकिराँत भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरुको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको रु ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २० लाखको लागतमा निर्माण गरिएको हो ।

मझुवागढीमा पर्यटकको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि भौतिक पूर्वाधार विकास गर्ने काम भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभयो । “मझुवागढी हाम्रो ऐतिहासिक तथा साँस्कृतिक धरोहर हो ।” उहाँले भन्नुभयो, “मझुवागढीलाई संरक्षण र विकास गर्न नगरपालिका लागी परेको छ ।”

मझुवागढीको पर्यटन विकासका लागि नगरपालिकाले प्रवेशद्धार, पदमार्ग निर्माण, खानेपानीको व्यवस्था लगायतका भौतिक पूर्वाधार निर्माणको गरेको छ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई मझुवागढीसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया