सुनेको, देखेको र भोगेको : विकास केही त भएकै छ ।

Halesi Khabar

भिम राई

आज भन्दा २०÷२५ बर्ष अगाडि खोटाङ जिल्लालाई पूर्वको कालिकोट भनिन्थ्यो । जुनबेला खोटाङ जिल्लामा मोटरबाटोको नाममात्र सुनिएका थिए । खोटाङ जिल्लाका लागि सगरमाथा राजमार्ग आउँदै छ । गाईघाट हुँदै खोटाङ दिक्तेल बाट सोलुसम्म जोड्नेबाटोको शिलान्यास भएको त्यही समय हो । मोटरबाटोको सपना त्यसबेला देखियो जुनबेला खोटाङ जिल्लालाई सबैभन्दा नजिकबाट मोटरबाटोले छुनसक्ने स्थान त्यहि थियो । त्यसबेला बोलिने माथिल्लो सगरमाथाका ३ वटा जिल्ला खोटाङ, सोलुखुम्बु र ओखलढुँगालाई सडकले छुृने सम्भावनाको तिब्र खोजिको समय थियो त्यो बेला । खोटाङका आम मानिसहरु नुन, तेल र फलामहरु खरिद गर्न तराईका बजारहरुनै पुग्नु पर्ने अवस्था थियो । त्यसबेला गाईघाट, बेल्टार, कटारी, धरान पुग्नुपर्ने अवस्था अहिले कथा जस्तैमात्र हुन्छ । ती भोगाई वितेको धेरै समय वितेकै छैन । अहिलेका युवापुस्तासम्म आईपुगेकै कथा हुन् यी ।

तीनै समयक्रममा ओखलढुँगाकालागी उदयपुरको कटारीबाट मोटरबाटो खन्नेकामको शुरुवात भयो । ओखलढुँगामा तत्कालिन नेपाली कांग्रेसका तत्कालिन नेता तथा सांसद नेता बलबहादुर राई रहेका थिए । यो बाटोले कच्ची नै भएपनि उदयपुरको घुर्मीसम्म नुनतेल ल्याईदिएको थियो । त्यहि बेला खोटाङको उत्तरीभेग र सोलुका केही भुभागका मानिसहरुकालागि केही राहत मिलेको थियो । यसपछि खोटाङलाई मोटरबाटोसँग छिटो भेटाउने अवसरपनि जुरेको थियो । त्यहिबेला खोटाङमा तत्कालिन नेकपा एमालेको तर्फबाट जिल्लाका माननीय टंक राई र अशोक राई रहेका थिए । अशोक राई तत्कालिन एमालेका अल्पमतको सरकारका श्रम तथा यातायातमन्त्री समेत रहेकाबेला शिलान्यास भएको गाईघाट दिक्तेल मोटरबाटोको काम सुस्तगतिमा अघि बढिरहेको थियो । उता कटारी– ओखलुढुँगा जोडिने बाटोले कच्ची यात्रामा ओखलढुङगाको सदरमुकाम भेटिसेकेको थियो । यता खोटाङ भने चुपचाप ढाकरमा नुन ओसारी रहेको थियो । यसै मेसोमा खोटाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का तत्कालिन सासंद टंक राईले नया अवधारणाका साथ ओखलढुङ्गाको हिलेबाट खोटाङको हलेसी हुँदै दिक्तेल जोड्ने मोटरबाटोको खन्ने योजना सार्वजनीक गरे । त्यसबेलासम्म खोटाङबाट राजधानी काठमाडौं सम्मको यात्रा निकै कठिनाईको थियो । छोटोदुरीको बाटोका बारेमा परिकल्पना पनि नभएको अवस्थामा काठमाडौंबाट सिन्धुली खुर्कोटहुँदै घुर्मी जोड्ने र घुर्मीबाट हिलेपानी हुँदै हलेसी दिक्तेल जोड्नेबाटो योजनाले मुर्त रुपलिन पाउने अवसरको सिर्जना भयो । तत्कालिन समयमा खोटाङ जिल्लाले जिल्लाविकास समिति मार्फत ७६ वटै गाउँ विकास समितिको सहकार्यमा आफैले बाटो खन्नेकामको शुरुवात भयो । हिलेपानीबाट शुरुभएको बाटोले जिल्लामा उत्साह भरियो । त्यसको केही समयपछि खोटाङ जिल्लामा अपर सगरमाथा कृषि सडकको कार्यक्रम लिएर आयो । यसले विस्तारै सडकको विस्तार गर्ने कामको शुरुवात गरायो ।

सडकको पहुँचमा आउन जिल्लालाई भाषणको कुनै दुख थिएन । तत्कालिन राष्ट्रिय पञ्चायताका विरेन्द्र केशरी पोख्रेल, पर्शुराम राईहरु देखि शुरुभएको मोटरबाटोको कथालाई माथिल्लो सगरमाथा कृषि सडक आयोजना, ग्रामिण पहुँच कार्यक्रम (¥याप) हुँदै अहिले मध्यपहाडी लोकमार्गसम्म आईपुग्दा जिल्लमा यातायातको कथा अझै सकिसकेको त छैन तर सन्तोष गर्न सकिने निकै ठाउँहरु अवश्य छन् । हेलिकप्टर मार्फत मालबाहक मिनिट्रक र यात्रुबाहक बोलेर जिप भित्र्याउने खोटाङ जिल्लामा अहिले व्यापक सुधार भएको छ ।

त्यसबेला जिल्लाको सदरमुकाम सम्म कसरी यातायात पु¥याउने भन्ने चिन्ता अहिले कसरी आफ्नो घरको आगनमा मोटरसाईकल पार्क गर्ने भन्नेमा बदलिएको छ । उदयपुरको बेल्टार, गाईघाट, कटारी, घुर्मी पुगेर खाद्यन्न र नुनतेल ल्याउने हाम्रो चेतनाले अहिले घरको करेसोमा समान कसरी झार्ने भन्नेमा केन्द्रित हुन थालेको छ । सबैले यातायातको साधनको प्रयोग गरेर सेवासुविधा प्राप्त गरिएकै छ । यातायात पहिलो कुरा भयो । यो सँगै विकासका अरु असंख्य उपलब्धिहरुपनि भएका छन् । शिक्षामा, स्वास्थ्यमा उतिकै सुधार भएका छन् । विभिन्न पेशा व्यवसायमा उतिकै सुधार छ । तर हाम्रो चिन्तन र प्रणालीमा भने कुनै सुधार हुन सकेको छैन । विकास हामीले सुनेका थियौँ । सुनेको विकास पाएका छौँ तर उपयोगिताको हिसाबले भने हामी फेरी उहि पुरानैदिनमा रहेका छौँ ।

मानिसहरुको घरघरमा विजुली बत्ती बल्छ । गाउँमा बलेको बिजुली बत्तीले गाउँको टुकी बत्ति विस्थापित गर्न बाहेक अरु केहीमा प्रयोग गर्न नसकिएको यर्थात हाम्रो सामुमा छ । संचारको क्षेत्रमा रेडियो नेपाल सुन्ने र गोरखापत्र पढ्ने बाहेक नभएको समयलाई छिचोलेर ईमेल ईन्टरनेट चलाउने युगमा समयले ल्याई पु¥याउँदा समेत हामी फेसबुकमा प्रेमपत्र कोरीरहेका छौँ । कस्तो विढम्बना छ हाम्रो चेतना ?
विभिन्न तहका सरकार छन् । सरकारले हामीलाई खाली विकासको नाममा सडक दियो । विद्यालयको भवन दियो । नया नया भौतिक पुर्वाधारहरु दियो । मठ मन्दिर, कृतिम पोखरी, भ्यु टावर दियो । कृषिकर्म गर्न प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल, रासायनीक मल, सबै दियो । तर हामीलाई उचित चेतना दिन नसक्दा सबै बेकम्मा भएका छन् । बाटो दियो बुद्धी दिएन । विद्यालयको भवन दियो सहि शिक्षा दिएन । अरु थुप्रै सिमेन्ट, बालुवा, फलामे रड, प्लास्टिकका सामग्रीहरु त दियो त्यसको सहि ढंगले परिचालन गर्ने क्षमता दिएन । हामीले सोचेको विकास, देखेको विकास र भोग्नुपर्ने विकासमा यतै कतै फरक परेको छ । यसलाई आगामी दिनमा सबै मिलेर खोज्न पहल गरौँ ।

 

तपाईको प्रतिक्रिया