केपिलासगढीका अतिबिपन्न, एकल महिला र अशक्त ६११ घरपरिवारलाई निःशुल्क कम्बल

Halesi Khabar

खोटाङ, २८ पुस । केपिलासगढी गाउँपालिकाका ६११ घरपरिवारलाई जाडोमा ओढिने कम्बल निःशुल्क वितरण गरिएको छ । अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा केपिलासगढी गाउँपालिकाका सातवटै वडाका अतिबिपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरेर उनीहरुको गाउँमै लगेर निःशुल्क कम्बल वितरण गरिएको हो ।

सप्तेश्वर, बाक्सिला र बास्पानीका २६०, खार्ताम्छा र फेदीका १६५, दिप्सुङ र सुङ्देलका १८६ घरपरिवारलाई निःशुल्क कम्बल वितरण गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका सहसचिव माइतीराज राईले बताउनुभयो । अमरिकी संस्थाको आर्थिक सहयोगमा खरिद गरिएको कम्बल नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवम् प्रदेशसभा सदस्य राजन राईले हरेक वडामा पुगेर वितरण गर्नुभएको हो ।

जिल्लामा जाडो मौषम शुरु भएसँगै चिसोले कठ्याङ्ग्रिएर रात बिताउँदै आएका अतिबिपन्न, एकल महिला र अशक्त व्यक्ति अमेरिकी संस्थाको आर्थिक सहयोगमा निःशुल्क कम्बल पाएपछि हर्षित भएका छन् । अतिबिपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवारलाई निःशुल्क वितरण गरिएको कम्बल प्रतिगोटा रु एक हजारमा खरिद गरिएको आयोजकले जनाएको छ ।

यसैबीच, बुधबार दिउँसो वर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको छ । लेकाली भेगमा हिमपात तथा बेँसी क्षेत्रमा भारीवर्षा भएसँगै जिल्लामा अत्यधिक चिसो बढेको हो ।

वर्षा र हिमपातपछि एक्कासी बढेको चिसोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै जिल्लामा विजुली खपत बढ्नुका साथै हिटरको व्यापार बढेको व्यापारीहरुले बताएका छन् ।

वर्षा र हितपातका कारण जिल्लाका ग्रामीण सडकमा सञ्चालित सबै यातायातका सवारी साधन अवरुद्ध भएको छ । यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरु गन्तव्यमा नपुगी बीच सडकमै अलपत्र परेका खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया