प्रतिव्यक्ति रु दुईबाट बचत शुरु गरिएको सहकारीको वार्षिक कारोबार रु सात करोड

Halesi Khabar

खोटाङ, २६ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोबार करीब रु सात करोड पुगेको छ । प्रतिव्यक्ति मासिक रु दुई बचत गर्नेगरी शुरु गरिएको सहकारीको वार्षिक कारोबार रु छ करोड ९७ लाख ९५ हजार ३८३ पुगेको हो ।

नियमित बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले वि.सं. २०४८ सालमा महिलाहरुको सक्रियतामा सहकारी संस्था स्थापना गरिएको थियो । सहकारीको आफ्नै भवन जालपामा आइतबार साँझ सम्पन्न २५ औँ साधारणसभामा सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा निक्षेप रु चार करोड ७७ लाख ६१ हजार ८३१ सङ्कलन गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा रु ४४ लाख दश हजार ५५० शेयर वृद्धि भएकामा आर्थिक वर्ष २०७७÷०७८ मा रु ६३ लाख ४३ हजार ६५० शेयर वृद्धि उपलब्धी भएको सहकारीका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷०७७ मा शेयर लाभांश रु सात लाख २३ हजार ३१ वितरण गरेको सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा रु दश लाख १४ हजार ६०० शेयर लाभांश वितरण गरेको छ ।

साधारणसभा एवम् अधिवेशनले लेखा परीक्षण, आर्थिक प्रतिवेदन, आर्थिक नियमावली, कर्मचारी नियमावली र ऋण नीति पारित गरेको छ । सहकारीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा शेयर पुँजी रु एक करोड पु¥याउने, ऋण लिएका प्रत्येक ऋणि शेयर सदस्यको एक वर्षे दुर्घटना बीमा गर्ने, धान, कोदो, मकै, गहुँ, जौ, फापर, फलफूल र पशुपालनमा लगानी गर्ने, ऋणीहरुलाई सोको बीमा गर्न प्रोत्साहन र सहजीकरण गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ ।

यस्तै, कार्यालयमा सञ्चित एवम् स्थानान्तरणको जोखिम अनुसार नगद बीमा गर्ने, कुल बचत रु चार करोड ७७ लाख ६१ हजार ७३२ बाट वृद्धि गर्दै रु छ करोड २८ लाख ८३ हजार १४१ पु¥याउने, हाल कायम प्रतिशेयर सदस्यको शेयर पुँजी रु १५ हजारबाट २० हजार पु¥याउने योजना बनाइएको छ । सहकारीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र १२ जालपा तथा रावाबेँसी गाउँपालिका–६ हौंचुरका ७६ बचत तथा २५ बाल बचत समूहका एक हजार ४६८ शेयर सदस्य छन् ।

जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले माक्पा र सप्तेश्वरमा समेत कारोबार शुरु गर्ने योजना बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सहकारीले रेमिट्यान्स कारोबार पनि गर्दैआएको छ ।

सहकारीले आफ्नो निर्माणाधीन तीन तले पक्की भवन आगामी चैतबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । जनसेवा कृषि सहकारी संस्था र वडा कार्यालयसँगको साझेदारीमा बन्ने भवन राष्ट्रिय सहकारी दिवसको अवसरमा २० चैतदेखि सञ्चालनमा ल्याइने जनाइएको छ ।

सहकारीको साधारणसभा तथा महाधिवेशनले श्रेष्ठ नेतृत्वको सञ्चालक समितिलाई पुनः दोहो¥याएको छ । नौँ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षा पार्वती राई, सचिवमा दीलबहादुर राई र कोषाध्यक्षमा अम्बिका राई रहनुभएको छ ।

व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शीर्षकमा १५ प्रतिशत ब्याजका दरले ऋण प्रवाह गर्दै आएको छ । सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनीट्रान्सफर लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकाका नागरिकलाई बचत गर्ने बानीको विकास गर्दै आयआर्जनमा वृद्धि गराउन नगरपालिकाले ‘एक वडा, एक सहकारी’को नीतिसमेत पारित गरेको छ । पूर्वी पहाडी जिल्ला खोटाङमा १३९ वटा सहकारी संस्था सञ्चालित रहेको सहकारी सङ्घ खोटाङका अध्यक्ष मिलन चाहारले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया