माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस, २५ जनाभन्दा बढी भेला हुन निषेध

Halesi Khabar

काठमाडौँ, २५ पुस । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोकोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको नेपालको भनाइ छ । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

यसैबीच, मुलुकभर कोरोना भाइरस फैलिएपछि सरकारले कडाई गरेको छ । राजनीतिक दलको भेलाहरुबाट बढी सङ्क्रमण फैलिएपछि २५ जनाभन्दा बढी भेला हुन निषेधको निर्णय भएको छ ।

विद्यालयहरु बन्द गर्न आग्रह गर्नुका साथै सिनेमा तथा होटल रेष्टुरेन्टमा जान भ्याक्सिन लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने नियम बनाइएको छ । यातायात सञ्चालनमा समेत कडाई गर्ने तयारी भएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन र बुस्टर डोजमा सरकारले जोड दिएको छ । भ्याक्सिन अनिवार्य गर्दै नलगाएकालाई हिडडुल गर्न पनि कडाई गर्नेबारे सरकारले तयारी गरेको बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया