सुत्केरी व्यथाले गम्भीर महिलाको उद्दार, शिशुको पेटभित्रै मृत्यु

Halesi Khabar

खोटाङ, १७ पुस । सुत्केरी व्यथाले गम्भीर बन्नुभएकी गर्भवतीको उद्दार गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २६ वर्षीया भिमादेवी राईको आज (शनिबार) हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

सुत्केरी व्यथाले गम्भीर बनेर स्थानीय स्वास्थ्य चौकी डिकुवामा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवाबाट महिलाको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । सुत्केरी व्यथाले गम्भीर बन्नुभएकी भिमादेवीको उद्दारका लागि सम्पूर्ण प्रक्रिया पूरा भए पनि मौसम खराबका कारण तीन घण्टापछि हेलिकोप्टर आएको थियो ।

उद्दारपछि प्रसुति गृह थापाथली काठमाडौँमा शल्यक्रिया गरेर बच्चा निकालिए पनि बच्चा जीवित नरहेको भिमादेबीका श्रीमान प्रविन राईले बताउनुभयो । उल्टोबाट (खुट्टा हुंदै) बच्चा जन्मिएपछि आमा र बच्चाको अवस्था गम्भीर बनेको थियो ।

गर्भवती आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा स्थानीय स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालको सिफारिसमा हेलिकोप्टरमार्फत उद्दार गर्ने गरिएको छ । आर्थिक वर्ष २०७५÷०७६ देखि जिल्लामा शुरुवात भएको यस कार्यक्रम अन्तरगत हालसम्म जिल्लाका २४ जना गर्भवतीको उद्दार गरिसकिएको जनाइएको छ ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ खोटाङका लागि प्रभावकारी भएको छ । पहाडी भूभाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तरगत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बनेका महिलालाई निःशुल्क हवाई उद्दार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो ।

 

तपाईको प्रतिक्रिया