एमाले महाधिवेशन : खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने

Halesi Khabar

चितवन, ३० कातिक । नेकपा (एमाले) को आसन्न १० औं महाधिवेशनमा नेपाल खेलकुद महासंघले २० हजारभन्दा बढी सहभागी गराउने भएको छ । महासंघको आज भरतपुरमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले महाधिवेशनमा धेरैभन्दा धेरै सहभागि गराउने निणर्य गरेको हो ।

जिल्ला अध्यक्ष प्रकाश रेग्मीकोको अध्यक्षतामा सम्पन्न भेलालामा प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले महासंघको तर्फबाट उद्घाटन समारोहमा २० हजारभन्दा बढी सहभागी गराउन निर्देशन दिनुभयो । उहाँले खेलाडीहरु अनुशासित र मर्यादित हुने हुँदा सभालाई सभ्य र भव्य बनाउन हरतरहले लाग्न निर्देशन दिनुभयो ।

सो अवसरमा नेकपा एमाले बाग्मती प्रदेश सदस्य पुरुषोत्तम न्यौपाने, जिल्ला कमिटी सदस्य कमल पाठक, महानगर अध्यक्ष शंकर थपलिया, युवा संघका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी, जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष प्रल्लाद प्रधान, खेलकुद महासंघका केन्द्रीय सचिव पुष्पराज जोशी, कोषाध्यक्ष ऋषिकेश रेग्मी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त भेलाले खेलकुद महासंघको तर्फबाट प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नेकपा एमालेको राष्ट्रिय महाधिवेशन तयारी कमिटी गठन गरेको छ। उक्त कमिटीले महाधिवेशनमा स्वयंसेवक, स्वागतद्वार निर्माण, सरसफाई लगायतका कार्यमा सहयोग पुर्‍याउने छ । महाधिवेशनका अवसरमा खेलाडीहरुले खेल कौशल प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । मंसिर १० गते नारायणी नदी किनार नारायणगढमा उद्घाटन समारोह हुनेछ भने ११ र १२ गते बन्द सत्र सौराहामा हुनेछ ।

तपाईको प्रतिक्रिया