खेलकुद महासंघ : मंसिर पहिलो साता खेल नीति सम्मेलन सञ्चालन गर्ने

maiya

काठमाडौं,२९ कातिक । नेपालको खेलकुद विकासको लागि मार्गनिर्देश गर्ने गरी आगामी मंसिर ५ र ६ गते खेल नीति सम्मेलन गरिदैं छ । खेलनीतिकै अभाव र सरकारी निकाय बीच आपसी समन्वय नहुदाँ खेलकुद क्षेत्रमा देखिएको जटिलताको मारमा खेलाडीहरु पर्दै आएका छन् ।

खेलकुद ऐन बनिसकेको अवस्था छ । तर खेलकुद नियमावली नबन्दा खेलकुद क्षेत्रले लय समात्न सकेको छैन् । प्रदेश खेलकुद परिषद गठन भईसकेका छन् । जिल्ला तथा नगर एवं गाँउपालिकामा समेत खेलकुद विकास समिति गठन भएका छन् । गठित समितिहरु बीच आपसी समन्वय नहुदाँ खेलकुदले फड्को मार्ने अवस्था छैन् ।

संघीय संरचनामा गईसकेको तर समग्र खेलक्षेत्रको नेतृत्व गर्ने राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति तथा स्थानीय पालिका खेलकुद विकास समितिका बिच आवश्यक सहकार्य हुन नसक्नुका पछाडिको कारणमध्येको प्रमुख नीतिगत झमेला नै हो । यही अन्यौलताका कारण कतिपय राष्ट्रिय खेल संघहरु विघटन÷खारेजी हुने अवस्थामा समेत पुगेका छन् । यी सबै समस्यालाई समाधान गर्नका लागि पनि यो सम्मेलनले एउटा स्पष्ट दिशानिर्देश गर्न सक्नेमा नेपाल खेलकुद महासंघ विश्वस्त रहेको नेपाल खेलकुद महासंघ प्रचार विभाग प्रमुख उमेश केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

महासंघले खेल नीति सम्मेलन किन भन्ने प्रश्नमा संघीयता अनुसारको ऐन, कानून र नियमावली निर्माण गर्न, नेपाली खेलकुदको विविधिकरण र बर्गिकरणको आधार तयार गर्न, खेलकुद र राजनीति अर्थात खेलनीति र राजनीतिको संयोजन तथा सहकार्य कार्य गर्न, विश्व खेलकुदमा आएको परिवर्तनलाई आत्मसात गर्दै नेपालको भावी रणनीति तय गर्न, खेल ईभेण्ट मिडिया र ब्राण्डिङ स्किल आदान प्रदान गर्न, खेलकुदको सरोकारवालाहरु बीच सहकार्य, एकता र सम्बन्ध स्थापित गर्न लगायतको बुदाँहरु समेट्दै आयोजनाको औचित्य पुष्टि गरेको छ ।

पहिलो सत्रमा राजनीतिक पार्टी र खेलकुद संगठनहरु बीच छलफल, राष्ट्रिय तथा अन्तराष्र्टिय खेलाडीसँग अन्तरक्रिया, खेलकुद ऐन तथा नियमावली, खेल विज्ञान र मानव स्वास्थ्यसँग सम्बन्धीत विषयमा छलफल गरिने छ । दोस्रो सत्रमा खेलकुद, विगत, बर्तमान र भविष्य, खेलकुद विविधिकरण तथा खेल शिक्षा, महिला शसक्तिकरण तथा समावेशीकरण खेलकुद आयोजना, व्यवस्थान र ब्राण्डिङ लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरिने छ । खेल नीति सम्मेलनको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने छन् ।

तपाईको प्रतिक्रिया