पर्यटकलाई आकर्षित गर्न सिम्पानीमा लोहोकिल पार्क निर्माण

Halesi Khabar

खोटाङ, २७ असोज । खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा लोहोकिल पार्क (उद्यान) निर्माण गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी जम्मा रु २४ लाख २९ हजार ७०६ खर्चमा लोहकिल पार्क निर्माण गरिएको हो ।

वि.सं. २०१६ सालमा बनेको पुरानो पोखरी सिमपानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा लोहोकिल पार्क बनाइएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो । “सिम्पानीमा बजार विस्तारका क्रममा पुरानो पोखरी पुर्नुका साथै पोखरीछेउमा रहेको जोडी बरपिपलको ठुलो रुख ढालिएको थियो”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थल रुपमा रहेको लोहकिलमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवित गर्दै बीचमा राखिएको ढुङ्गाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरीसहितको पार्क बनाइएको छ ।”

ऐतिहासिक तथा व्यापारिक केन्द्र सिम्पानी बजारको सौन्दर्यकरण गर्दै पर्यटकलाई आकर्षित गर्ने र घुमफिर गर्ने व्यवस्थाका लागि लोहोकिल पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । लोहोकिल पार्क निर्माणका क्रममा स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित रु १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको रु सात लाख ५० हजार बजेट खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

पार्क निर्माण योजनाका लागि उपभोक्ता समितिबाट (दश प्रतिशत) रु दुई लाख ५० हजार ५८१ बराबरको श्रमदान जुटाइएको जनाइएको छ । लोहकिल फाउण्डेशन पार्कको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ ।

भौतिक पूर्वाधार निर्माणमा जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि देखिएको उक्त खोटेहाङ गाउँपालिकाले पछिल्लो समय पर्यटन पूर्वाधार विकासलाई जोड दिएको छ । जिल्लाका गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौँ वडा रहेको उक्ता गाउँपालिकाका हरेक वडामा एक÷एकवटा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्तरोन्नति गरिरहेको छ ।

 

पर्यटन प्रवद्र्धन अन्तरगत पर्यटकीयस्थल कपासेभञ्ज्याङमा राष्ट्रिय विभूति पार्क, इन्द्रेणीपोखरीमा इन्द्रेणीको आकृति, रोक्सिमभञ्ज्याङमा रहेको भालेढुङ्गाको स्तरोन्नति लगायतका काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । छिमेकी जिल्ला भोजपुरसँगको सिमानामा पर्ने कपासेभञ्ज्याङमा एक नं. प्रदेश सरकारको समेत लगानी रहेको वडाध्यक्ष दीपेन थुलुङले बताउनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकता दिएका छन् । विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसी आउने पर्यटकलाई आफ्नो क्षेत्रमा तान्ने उद्देश्यका साथ जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा भएका धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति, पूर्वाधार निर्माण एवम् प्रवद्र्धनका कामलाई प्राथमिकता दिएका हुन् ।

जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुइपामा यलम्बरको मुर्ति, किराँत ऐतिहासिकस्थल मझुवागढीमा वाबु (चिन्डो), बगरेभञ्ज्याङमा पेनटावर तथा कृतिम ताल, रुपाकोटमा भ्यूटावर, भुलभुलेमा रुवालुङ भरनाको स्तरोन्नति लगायतका काम गरिरहेको छ । उता, त्रिधार्मिकधाम हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाले पनि पर्यटन प्रवद्र्धनको कामलाई प्राथमिकता दिएको छ ।

एघार वडा रहेको उक्त हलेसी तुवाचुङ नगरपालिकाले वडा नं. ७ महादेविस्थानस्थित ककनीडाँडामा ढुङ्गे बगैँचा (रकगार्डेन), मञ्जुश्री गुफा क्षेत्रमा पद्मसम्भवको प्रतिमा, मङ्गलटारमा रहेको महादेव बुक्टोको स्तरोन्नति लगायतका कामलाई तीव्रता दिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनको रुपमा विकास एवम् प्रवद्र्धन गर्न नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर पूर्वाधार निर्माण तथा स्तरोन्नतिका कामलाई जोड दिएको हो ।

 

तपाईको प्रतिक्रिया