सभापतिको हैकम र मनोमानीले पार्टीको विधान धूजा–धूजा भयो : शेखर कोइराला

Halesi Khabar

काठमाडौँ, २५ असोज । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गुटको राजनीतिका कारण पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा–धूजा पारेर च्यात्ने काम भएको समेत बताउनुभयो ।

“विधानको कुन धारा कति बेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्ला पिच्छे फरक–फरक नियम बनाएर अधिवेशन गरिएको छ। नेतृत्वमा बसेकाहरू जसरी पनि पार्टी कब्जाको अभियानमा छन्”, कोइरालाले भन्नुभयो ।

काँग्रेसको इतिहासमा आजसम्म प्रहरीको घेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको बताउँदै डा कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताउनुभयो । सुन्दरहरैंचा नगर मोरङको नव निर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रममा नेता डा कोइरालाले प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताउनुभयो ।

कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद भएको बताउनुभयो । काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै काँग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया