साकेलाका ४७२ जना लक्षित वर्गले बुझे शिविरमार्फत सामाजिक सुरक्षाभत्ता

Halesi Khabar

खोटाङ, २४ असोज । साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआई बैङ्क र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ जना लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।

गाउँपालिकाले शिविर सञ्चालन गरेर लक्षित वर्ग स्वयम्लाई उनीहरुकै हातमा उनीहरुले पाउने सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएपछि हर्षित भएका छन् । गत असोज १७ गतेबाट शुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताउनुभयो ।

गाउँपालिकाले १७ र १८ गते वडा नं.-१ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, १९ गते वडा नं.-२ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, २० गते वडा नं.-३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, २२ गते वडा नं.-४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ जना र २४ गते वडा नं.-५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण शिविरमा एसबिआई बैङ्कका शाखा प्रमुख असिम इङ्नाम, सामाजिक सुरक्षा शाखा प्रमुख चाम्लिङ, लगायतको उपस्थिति रहेकाे गाउँपालिकाले जनाएको छ ।

कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलोमात्रामा आर्थिक अनियमितता भएकाले त्यसलाई रोक्न बैङ्किङ प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “बैङ्कमार्फत वितरण गर्दा यसअघि वितरण गरिँदै आइएको रकममा आधा घटेको छ”, उहाँले भन्नुभयो, ““बैङ्कमा आएर भत्ता बुझ्न लक्षित वर्गलाई समस्या हुने भएकाले उनीहरुको सहजताका लागि उनीहरुको टोलमै शिविर सञ्चालन गरेर वितरण गरिएको हो ।”

साकेला गाउँपालिकामा यसअघि सामाजिक सुरक्षाभत्ता वितरणमा चरम आर्थिक अनियमितता भएको पाइएको थियो । वडा नं.-५ मात्तिममा एउटै गाउँका तीनजना फूलसरी राईको नाममा वर्षैँदेखि नियमित निकासा गरिएको पाइएको थियो ।

एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौँदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फूलसरी राई सो वडामै नभएपछि गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणलाई व्यवस्थित बनाएको हो ।

सामाजिक सुरक्षा शाखा प्रमुख चाम्लिङले बताउनुभयो । यतिमात्र नभइ उक्त वडामा मृत्यु भएपछि स्थानीय पञ्जिकाधिकारीको आधिकारिक हस्ताक्षरसहित मृत्यु दर्ता गराएका व्यक्तिको नाममासमेत अहिले पनि नियमित रुपमा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको थियो ।

सामाजिक सुरक्षा भत्तालाई बैङ्किङ प्रणालीमा लैजानअघि वडा सचिवले घर-घरमा वा कम्तिमा टोल-टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए । साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी अनियमितताका विषयमा गृह मन्त्रालयले समेत चालो व्यक्त गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरेपनि गाउँमै पुगेर भने वितरण गरेको छैन । गाउँ तथा टोलमा लगेर भत्ता वितरण नगर्दा अशक्त बृद्धबृद्धा र पूणर् अपाङ्गता भएका व्यक्तिलाई समस्या देखिएको छ ।

बैङ्कमार्फत सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेपछि पारदर्शीता कायम गर्न सहयोग पुगे पनि हिँडडुल गर्न नसक्ने अशक्तको सवालमा समस्या निम्तिएपछि जनप्रतिनिधिसमेत आजित बनेका छन् । हिँडडुल गर्न सक्ने कतिपय लाभग्राही सिधै बैङ्कको शाखा कार्यालयमा पुगेर भत्ता बुझ्ने गरेको भए पनि अशक्त बृद्धबृद्धा र पूणर् अपाङ्गता भएका व्यक्तिले भने सामाजिक सुरक्षा भत्ता नियमित पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया