शि लिड्सको तालिम तथा सार्वजनिक सुनुवाई हलेसीमा

Halesi Khabar

हलेसी खबर
हलेसी, २४ असोज । हलेसी तुवाचुङमा दलित महिला केन्द्र नेपाल (सि डि डब्लु एन) ले सार्वजनीक सुनुवाई तथा महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धिको तालिम दिएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा शि लिड्स परियोजना सञ्चालन गरिरहेको दलित महिला केन्द्र नेपालले हलेसीमा आईतबार दुईवटा कार्यक्रम एकैसाथ सञ्चालन गरेको हो ।

दलित महिला केन्द्र नेपालको महिला जनप्रतिनिधिहरुलाई दिइने प्रारम्भिक प्रशिक्षण मोडल २ को तालिम समापन कार्यक्रममा नगरप्रमुख इवन राई प्रमुख आथिति रहनुभएको थियो । कार्यक्रममा उप प्रमुख विमला राई नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिहरुले महिला जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमिका, राजनीतिमा महिला प्रतिनिधिहरुको सहभागिताको बारेमा मन्तव्य राख्नुभएकाे सि लिड्स परियोजना जिल्ला संयोजक भानु राईले जानकारी दिनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इवन राईले राजनीतिमा महिलाहरुको सहभागिताले विकास निर्माणको काममा आधा हिस्सा बोकेको बताउँदै अझै म सक्छु भन्ने भावनाको जागृत हुनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै उप प्रमुख बिमला राईले महिलाहरु घरको चुलाचौका छाडेर राजनीतिमा आउन चुनौति भएपनि त्यसलाई सामना गर्न सक्छन् भन्ने उदाहरण बन्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले अब ३३ प्रतिशतको कुरा भन्दा आधा आकाश नारी, आधा आकाश पुरुषको हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति चक्र राई, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सुरेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज हस्तबहादुर राई (आमोद) लगायतका नेताहरुले राजनीतिमा महिला अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका थिए । कार्यक्रम संविधानसभा सदस्य तथा तालिम प्रशिक्षक दुर्गाजयन्ती राईको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया