आदिवासी जनजाति युवा महासङ्घले वितरण गर्‍यो हलेसीका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

maiya

खोटाङ, १७ असोज । नेपाल आदिवासी जनजाति युवा महासङ्घले हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । महासङ्घ केन्द्रीय उपाध्यक्ष शुभलाल राईको नेतृत्वमा सङ्कलन गरिएको रकमबाट स्वास्थ्य सामाग्री खरिद गरेर आइतबार नगर स्वास्थ्य चौकी दुर्छिम र होइदे स्वास्थ्य चौकीलाई वितरण गरिएको हो ।

दुर्छिमका कार्यबाहक वडाध्यक्ष फलामसिं राई र स्थानीयको उपस्थितिमा नगर स्वास्थ्य चौकी दुर्छिममा २३० थान सजिर्कल मास्क, ४ थान थर्मल गन, ४ लिटर सेनिटाइजर, ४ थान पल्स अक्सिमिटर, १० थान साइनेक्स, ९ थान जिन्क, ४ थान डिजिटल थर्ममिटर, १० थान पिसियम, १० प्याकेट ओआरयस र १० थान भिटामीन ‘सी’ वितरण गरिएको युवा नेता प्रदिपकुमार राईले बताउनुभयो । महासङ्घले उपलब्ध गराएको स्वास्थ्य सामग्री नगर स्वास्थ्य चौकीका प्रमुख डा.पवन श्रेष्ठलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

होइदे उपस्वास्थ्य चौकीमा २ थान पिपिइ, ७० थान सर्जिकल मास्क, ४ थान थर्मल गन, २ लिटर सेनिटाइजर, ४ थान पल्स अक्सिमिटर, ४ थान साइनेक्स, ४ थान जिन्क, २ थान डिजिटल थर्ममिटर, ४ थान पिसियम, ४ प्याकेट ओआरयस र ४ थान भिटामिन ‘सी’ प्रदान गरिएको महासङ्घका संस्थापक सचिव राजुविक्रम चाम्लिङले जानकारी दिनुभयो । “कोभिड-१९ को विरामी जुनसुकै अवस्थामा पनि पर्ने भएकाले सामान्य उपचार र औषधि सेवनका लागि महासङ्घले थोरै भएपनि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ”, उहाले भन्नुभयो, “हामीले उपलब्ध गराएको कोभिड लक्षित स्वास्थ्य सामग्री सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिलाई हस्तानतरण गरेका छौँ ।”

दश स्थानीय तह रहेको जिल्लामा यसअघि विभिन्न दातृ निकायले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएको जिल्लामा दुई हजार ९३४ जना सङ्क्रमणमुक्त भइसकेका छन् । गत वैशाखयता जिल्लाका १२ जना स्थानीय बासिन्दाले कोराना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया