ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

maiya

खोटाङ, १६ असोज । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । रसुवाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स १ त ७०७१ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नं.–१२ जालपाका १९ वर्षीय सहचालक डिलक्स राईको घटनास्थलमै मृत्यु भएको हो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्ड नुनथलामा सँगसँगै आइरहेको अर्को गाडीलाई ओभरट्याक गर्ने क्रमाम ट्याक्टर अनियन्त्रित भई सडकबाट ३५ मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्याक्टर चालक हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महेन्द्र राईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।

ट्याक्टर दुर्घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेका चालक राई सकुशल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त ट्याक्टर दुर्घटना गएराति साढे दश बजेको समयमा भएको जनाइएको छ ।

मृतक राईको शव जिल्ला अस्पताल दिक्तेल ल्याएर परीक्षण गरेपछि दाहसँस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया