कोरोना सङ्क्रमित घटेपछि चार महिनादेखि बन्द हलेसी मन्दिर खुलाइयो

maiya

फाइल तस्वीर

खोटाङ, २८ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर आज (सोमबार)बाट खुला गरिएको छ । जिल्लामा कोभिड-१९ को सङ्क्रमण दर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आइतबार बसेको बैठकको निणर्य अनुसार सोमबार बिहानदेखि हलेसी मन्दिर खुला गरिएको हो ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र खोटाङको बैठकको निणर्य अनुसार वैशाख १५ गतेदेखि हलेसी मन्दिर मन्दिर बन्द गरिएको थियो । चार महिनाभन्दा बढी समयसम्म बन्द रहेको हलेसी मन्दिर कोभिड सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्नेगरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

कोभिड-१९ को दोस्रो लहरको महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदैआएको नित्य-नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी ताला हालिएको थियो । बिहान र बेलुकाको नित्य/नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।

ताला हालिएको अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवम् तिर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रो पटक भएको हलेसी विकास समितिले जनाएको छ ।

हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्च लगायतमा दैनिकरुपमा गरिने नित्य/नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु खुला गर्ने निणर्य गरिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)का संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । “सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निणर्य गरिएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको विषयमा आनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ जनामात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण दुई हजार ९२६ जनामा देखिएको जिल्लामा १५ जनाले ज्यान गुमाएका छन् ।

सङ्क्रमितको सङ्ख्या धेरै भएपनि हालसम्म निषेधाज्ञा लागू नगरिएको जिल्लामा ३९ हजार ९८६ जनालाई पहिलो तथा २० हजार १७४ जनालाई दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हरेक नागरिकलाई खोप उपलब्ध गराउने सरकारको नीति अनुसार जिल्लाका दशवटै स्थानीय तहमा खोप लगाउने व्यवस्था मिलाइएको खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका प्रजिअ शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया