सम्झनामा हजुरआमा

maiya

अमृत लामिछाने
बिहानको छ बजे तिर निन्द्रा खुल्यो । हिजो राति देखि नै खुब पानी परिरहेथ्यो, अझै पानी परिराखेको नै रहेछ । उठेर बाहिर हेरें । यसो मोबाईल हेरें । अहिल्यै उठेर पनि त काम थिएन । दिनहरु खुल्ला थिए । दिन कटाउन बाहानाहरु चाहिन्थ्यो । अझ झनै झरीको निन्द्रा । पातलो ब्ल्याङ्केट माथि स्लिपिङ ब्याग खप्ट्याएर सुतेँ । हजुरआमा सपनामा आँउनु भयो । हजुरआमा बितेको लगभग दुइबर्ष भयो । यि दुईबर्षमा बेलाबेला सपनामा हजुरआमालाई देख्ने त गरेको नै हुँ तर यसपाला हजुरआमाको लागि निक्कै रोएको देखेँ । करिब आठ बजे निन्द्रा खुल्यो । म हजुरआमाको लागि काहालिएर रुँदारुँदै ब्युँझे । यो पाला किन यसरी मैले सपनामा हजुरआमालाई देखेँ दिनैभरि हजुरआमा को सपनाबाट निस्किनै सँकिन । मन कताकता उडिरह्यो ।

दुईबर्ष अगाडिको त्यो शनिबार करिब साठी दिन पछी घरमा कुरा गर्न पाएको । फोनमा आवाज सुन्ने बित्तिकै बुबा घकल्सिनु भयो । ममिको फोन नउठेपछी बुबालाई गरेको थिँए । बुबाको खबर सोधेँ बित्तिक्कै ममि खै ? ममिले मेरो फोन उठाउनु भएन भने । बुबाले बुबा “ममि त मामाघर” भनेर केहि कुरा भनम नभनम झै गरेर अन्कानाऊनु भयो । मेरो मनमा चिसो पस्यो । मैले केहि दिन अघि हजुरआमालाई खुब सम्झिराकोथेँ । मैले हजुरआमालाई केहि भको छ हो ? भनेर बुबालाई सोँधे । बुबाले हजुरआमा बित्नु भयो भन्नु भयो । मेरो दिमागमा त्यो बेला केहि सोचाई आएन कति दिन भयो भनेर सोधेँ । बुबाले आज ११ दिन भयो भन्नुभयो । घरको बारेमा सामान्य कुरा भएपछी ममिलाई मामाघरमा फोन गरेँ उठाउनु भयो । मामाहरु लाई पिर नगर्नु भनेँ । साथिहरुलाई मेरो त हजुरआमा बित्नु भएछ भनें । त्यसको पर्सिपल्ट क्लासमा मैले कबिता भन्ने मौका पाएँ मैले हजुरआमाको लागि लेखेको पर्खाइ नामको कबिता सुनाए । सबैले तालि बजाए केहि साथिले आफ्नो हजुरआमा सम्झाईदिनु भयो भने । मलाई हजुरआमाको सम्झना त्यो पछि उस्तो आएन ।

किन किन हजुरआमा प्रति मेरो बेग्लै प्रेम थियो । उसो त मैले उहाँसँग उस्तो समय बिताएको पनि हैन । मामाघर टाढानै थ्यो बर्षमा एकदुइ पल्ट एकदुई दिन भेटिने हजुरआमासँग कुरा गर्ने समय कहिल्यै आएन । एसएलसि सम्म मामाघर गैन्थ्यो । एसएलसी पछि काठमाण्डौ बस्न थालेदेखि घर जान नै कम हुन थाल्यो अब मामाघरको कुरा त पर भैगो । तर म यता आउने फिक्स भैसके पछी मामाघर गएँ । आउनेबेला हजुरआमाले सधै झै उहि आँसुले बिदा दिनु भयो । सबै छोरिहरु टाढाटाढा बिहे भएका हामि हजुरआमाका नाति नातिना सधै गैरहने कहिल्यै भएन । मामाघरमा पनि दाईदिदि भाईबैनि ठूलाठुला भैसके पछी सहर झरे । हजुरआमाको त्यो बुढो घर बाहेकअरु साथि भएनन ।

ममि ठूलममिले भन्नु भको सुनेको र कहिलेकाहि मामाघरमै सुनेको कुरा अनुसार हजुरआमा को बिहे सानै उमेरमा भएको रे । हाम्रा आमा हजुरआमाहरुको एउटा कुरा साझा र ठुलो छ । यो कुरा मा निकै पिडा लुकेको छ । मैले यो पाला घरमा जाँदा घरको हजुरआमासँग उहाँको पुरै जीवन कहानि सोधेँ उहाँले थाहा नपाउने गरेर मोबाइलमा रेकर्ड गरेँ । त्यहाँ हजुरआमा ले अहिले बसिरहेको घर बनाको पचहत्तर बर्ष भयो भन्नु भयो । मेरो मनमा एउटा ठुलो झट्का लायो तर हजुरआमालाई उहाँले नबुझ्ने कुरा सोध्न भएन । साख्खै भएर भनेँ । “है आबै एउटै थलोमा पचहत्तर बर्ष, अचेलका मान्छे उ देश बिदेश काँ हो काँ जान्छन । एउटा जुगै एउटा ठाममा बस्दा कस्तो हुन्छ होला है? “त्यतिबेला उहाँ ले भन्नु भयो ,“हाम्ले जन्माका तिमारु दुँनिया जान्चौ । हामि मर्या दिन काध हाल्न को आउने हो थाहा छैन” । हजुरआमाको यो जवाफले मलाई किन किन भौतिकबादी दुँनियालाई गिज्याईरहे झै लाग्यो । हामि आखिर के को लागि यो दौडधुपमा लागिपारिरहेका छौँ? हजुरआमाहरुको रगत संचारित हामि नाति नातिनाहरु अहिले धेरैकुरा पाँउन भनेर दुँनिया ठाँउ पुगेका छौँ? तर कहिल्यै हामिले सोचेको छौँ त हजुरआमाहरु, हाम्रा बाबा आमाहरु जीवनको अन्तिम समयसम्म हामि उनिहरुको साथमा होऔ भन्ने चाहान्छन , तर हामि त सबथोक कमाउने बाहानामा यस्तै सानासाना कुरालाई बिर्सिराहेछौँ , जो हाम्रा अभिभावको लागि ठुलो कुरा भैदिन्छ ।

हजुरआमाका एघार सन्तान हुनुभएछ जसमध्य अहिले पाँचजना हुनुहुन्छ । एकफेर घरको हजुरआमाले आज राति माइलो छोरो सपनामा आयो भन्नुभयथ्यो मैले सोधेको थिँए, “आबै उहिल्यै कहिले मर्या मान्छेको नि याद आँउछ? “उहाँ भन्नुहुन्थ्यो , “सन्तान भन्या जीउदा मरेका भनेर फरक हुन्न । त्यसलाई मैले ५ बर्ष पालेपछी मरेको हो । आमालाई छोराछोरिको कोप कहिल्यै मेटिदैन” । म अहिले एघार छोराछोरि पाएर अहिले पाँचजना मात्र बाँकिरहेका अनि ति पनि भेट नहुने अबस्थामा रहेकि ति आमाको बारे सोच्छू । कत्रो बेथाले थिच्दोहो हजुरआमालाई । कति आँउदो ति मरेर गएका अनि भएर पनि भेट नहुने छोराछोरिको याद , अझ जीवनको अन्त्य तिर त हजुरआमा एक्लै एक्लै हुनुभयो । हे भगवान कति अफ्ट्यारा दिनहरु थिए होला हजुरआमाको लागि ।

हजुरआमाको दुख कहाँ यतिमा सकिन्छ र । हजुरआमा लगभग ४० बर्षको हाराहारिमा हुँदा हजुरबुबा बित्नु भयो । मेरो ममि पनि सानै हुनुहुन्थ्यो रे हजुरबुबा बित्दा । ममिलाई पनि हजुरबुबाको बारेमा उस्तो केहि याद छैन । त्यो अधबैशे बिधवा उमेर, त्यतिधेरै सन्तान, त्यो बिकट गाँउ, एकदिन भरिको बाटोको माईति, हजुरआमा के हेरेर चित्त बुझाउनुहुन्थ्यो होला? मान्छेहरु नारिहरु धर्तिहुन भन्छन मलाई आमाहरु धर्तिसँग तुलनानै हुदैनन भन्ने लाग्छ । म कुनै महान कुरासँग तुलनानै नहुने महान शक्ति आमाहरुसँग हुन्छ भन्ने कुरामा बिश्वास गर्छू ।

अहिले त दुनिया यस्तो भैसक्यो टाउको दुखेको कुरापानि सामाजिक संजालहरुमा सेयर भएनन भने टाउको दुख्नेको टाउको निको हुँदैन । तर मेरि हजुरआमा आफ्ना ति सबै दुखहरु कहाँ कसलाई गएर भन्नुहुन्थ्यो होला? को सँग रुनुहुन्थ्यो होला ? नलेखिएको भएपनि मेरि हजुरआमाको जीवन कुनै महान पुस्तक भन्दा कम ओझिलो पक्कै हुने छैन होला । आज उहाँ हुनुभएको भए यि सबै सबै कुरा सोध्न मनथ्यो । जान्न मनथ्यो कुन दुखमा हजुरआमाको जीवन घसारियो ? कसरि ति दुखका दिन बिते होलान ?

मामाघरबाट माथि हेर्यो भने डरलाग्दो पहरा छन, जंगल छ । मैले जुनेलि रातमा माथि डाँडामा देखाएर हजुरआमालाई सोधेको थिएँ सानैमा “आबै त्यो माथि जानुभाछ ?”, हजुरआमाले भन्नुभएथ्यो “गा छैन बाबु त्यहाँ जानि कामै भएन, घाँसदाउरा तलै जँगलमा भै हाल्थ्यो”, तैपनि म अड्कल लगाउन सक्छू , ति पहरा हेरेर हजुरआमा आँगनको डिलमा बसेर पक्कै आफ्नो जीवनबारे सोच्नुहुदो हो । नत्र त हजुरआमाको साहरा भन्नु अरु को थ्यो र ? तर हजुरआमाको जीवन त्यहि डरलाग्दो पहरो जस्तै त थियो । जहाँ बाट खसे सबचिज सकिन्थ्यो अनि त्यहाँ बाँचेपनि त बाँच्न बहुत सकस थियो ।

हजुरआमाको एउटा बेग्लै ताकत थियो पारि गाँउको चौतारोबाट आफ्नो गाँउतिर आउदै गरेका सब मान्छै चिन्ने । यसमा मलाई हजुरआमाको अभ्यस्तता लाग्छ । किनकि हजुरआमाका आँफ्नाहरु आँउने बाटो त्यहि थियो । मामाहरु, ममि ठुलममिहरु, अनि कहिल्यै नआउने गरेर हिँडेका हजुरबुबा पनि त झिसमिसे अध्यारोमा त्यहि बाटो जानु भएथ्यो । हजुरबुबा जाने बिहान पक्कै पनि त हजुरआमाले पारि गाँउको चौतारो नकाटुन्जेल हजुरबुबालाई हेर्नु भयो होला । तर अब आगनिको डिलमा बसेर हेर्ने मान्छे आगन छोडेर गएको छ । म किन किन त्यो आँगन हजुरआमा बिनाको कल्पनानै गर्न सक्दिन ।

हजुरआमाको याद अत्ति भयो । ल्यापटप बिग्रेको थ्यो , किबोर्ड गाको थ्यो , नयाँ किबोर्ड लगाएर हजुरआमा बारे लेख्न बसेँ । अन्तिम तिर आईपुग्दा बुबाले कल गर्नु भयो । खाना खानु भयो त भनेर सोध्दा ममिले खानु भएन भन्नु भयो । किन भनेर सोधेको हजुरआमा को एकछाकि रहेछ । यि संयोगहरु मलाई थाहा छैन हजुरआमा प्रतिको आस्था हुन या त अरु केहि तर हजुराआमा जानु भएको दुईबर्ष पुगेछ ।

आबै म माथि तारा पक्कै लागेका होलान । हामिलाई तपाई कतै बसेर हेर्दै पक्कै हुनुहोला । दिमागमा यिनै कुरा छन , त्यो रमाईलो मामाघर, तपाई भएकै कारण गाँउलेले भरिने फलैँचाहरु, कहिल्यै ननिभ्ने अगेनाको आगो, आगो माथि सधैँ भैराख्ने चियाको ताप्के । तर अब त ति सबै कुरा सम्झनानै त रहने भए ।

तपाई गएको साल दशैमा तपाई गएको दिनको सबै कुरा बुबाले भनिसकेपछी खपिनसक्नु भयो। त्यहि रोउ ममि हुनुहुन्थ्यो जो अहिले पनि तपाईलाई सम्झेर रुनुहुन्छ , त्यसपछि बाथरुममा गएर धेरैबेर रोएपछी बल्ल शान्त भएथ्यो ।

अचेल तपाईली सम्झेर आँखा रसाउदा मलाई एउटा बिचार आँउछ । कि हामि भगवानको लागि रुन पाएका छौ ? भगवानको कुने परिभाषा छ भने तपाई भन्दा त्यो भगवान पक्कै महान छैन होला । मेले त हजुरआमा बिनाको मामाघर देखेको छैन । अब बानि पनि त पार्नु पर्ला, त्यो घर, आँगन, अँगेको, फलैचा दलिन जता गएपनि तपाई त्यहि त हुनुहुन्छ होला । तपाई जहाँ भएनि हामि माथि कृपा राख्नुस है ।

तपाईको प्रतिक्रिया