अखिल क्रान्तिकारी खोटाङको १८ औँ जिल्ला अधिवेशन पुस ९ र १० गते सञ्चालन हुने

Halesi Khabar

सन्तोष पौडेल

खोटाङ, २७ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कार्यसमिति खोटाङले १८ औँ जिल्ला अधिवेशन आगामी पुसमा हुने भएको छ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आइतबार दिक्तेल बजारस्थित भवनगैरामा पत्रकार सम्मलेन गरेर १८ औँ जिल्ला अधिवेशन आगामी पुस ९ र १० गते दिक्तेलमा गर्ने जनाएको हो ।

अखिल क्रान्तिकारीको जिल्ला भेला शनिबार सम्पन्न भएलगत्तै बसेको पहिलो बैठकले १८ आँै जिल्ला अधिवेशनका लागि विभिन्न उपसमितिहरुसमेत निर्माण गरेको छ । जिल्ला जिल्ला अधिवेशन आयोजक समितिका संयोजक डिआर खड्काको संयोजकत्वमा आर्थिक विभाग र प्रतिवेदन लेखन समिति गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज पर्वत चाम्लिङले जानकारी दिनुभयो ।

जिल्ला इन्चार्ज चाम्लिङका अनुसार प्रचार विभाग संयोजकमा एकराज बुढाथोकी, स्वयम्सेवक विभाग संयोजकमा दर्शन पुमा राई, प्रतिनिधि, परीवेक्षक तथा अतिथि सत्कार विभागमा आस्मिना राई, सङ्गठन विभागमा रमिला बाँस्तोला र स्वास्थ्य विभाग संयोजकमा अजय गदाललाई जिम्मेवारी दिइएको छ । जिल्ला अधिवेशनका लागि मङ्सिर २५ गतेभित्र गाउँनगर क्याम्पस अधिवेशन सम्पन्न गरिसक्ने जनाइएको छ ।

यसैबीच, एमसिसी सम्झौता नेपालको हित बिपरित रहेको र जिल्लामा रहेका सम्पूर्ण विद्यालयका विद्यार्थी र शिक्षकहरुसँग एमसिसीको बारेमा छलफल गर्ने अखिल क्रान्तिकारीले जनाएको छ । विद्यार्थी सङ्गठनले पार्टी नेतृहरुलाई समेत सचेत गराउँदै सङ्घीयता, समावेशिता र धर्म निरपेक्षलाई स्थापित गर्न र आगामी दिनको शैक्षिक आन्दोलन कस्तो बनाउने भन्नेबारे बहस गरिनेसमेत संयोजक खड्काले जानकारी दिनुभयो ।

दिक्तेलस्थित माओवादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरण’, दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका इन्चार्ज सुरेश राई, सह–इन्चार्ज होमकाजी आचार्य ‘विनोद’ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया