प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदद्वारा नाराबाजी

Halesi Khabar

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरी सदन अवरुद्ध गरिरहेका छन् । आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि एमालेले अवरुद्ध पारेको थियो ।

पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । यो बीचमा उहाँले सभाको अवरोध हटाउन छलफल समेत गर्नुभएको थियो ।

उहाँले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गर्नुभएपनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ । एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जर्नादन शर्माले भदौ २५ गते संशोधित बजेट ल्याउनुभएको थियो ।

तपाईको प्रतिक्रिया