खोटाङको राजनीतिमा महिला नेतृत्वको सवाल

Halesi Khabar

–भीम राई
मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै खोटाङमा पनि राजनीतिक चेतनाको बीजारोपण भएको देखिन्छ । वि.सं. २००७ सालको राणा विरोधी आन्दोलनसँगै जिल्लामा पनि राजनीतिक गतिविधि बढ्न थालेको थियो । यीनै गतिविधिको शुरुवातसँगै खोटाङमा पनि तत्कालीन राजनीतिक पार्टीहरुले आफ्ना गतिविधिहरु अगाडि बढाउन शुरु गरेका थिए ।

देशमा प्रजापरिषद, राष्ट्रिय काँग्रेस हुँदै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका पनि पछिल्लो समयमा भएका विभाजन र उनीहरुले बढाएको राजनीतिक गतिविधिसँगै जिल्लामा राजनीतिक गतिविधि शुस्त तरिकाले अगाडि बढेको इतिहास छ ।

जिल्लामा विभिन्न पार्टीहरुले गरेको गतिविधिहरुको बारेमा समीक्षाहरु निकै सकसपूर्ण पनि रहेका छन् । यसमा पनि महिला नेतृत्वको सवालमा निकै कमजोर छ । यस टिपोटहरुमा खास गरेर नेपाली राजनीतिमा आएका परिवर्तनहरुमा खोटाङका महिला नेतृत्व कति स्थापित गरे भन्ने विषयमा केन्द्रित हुनेछ ।

खोटाङमा तत्कालीन नेपाली काँग्रेस र तत्कालीन बामपन्थी राजनीतिको भूमिगत कालमा महिलाहरु बिरलै सहभागिता देखिएका छन् । पञ्चायतकालीन राजनीतिमा महिलाहरुको उपस्थिति निकै गौण रहेको थियाे । राजनीतिक हिसाबले हेर्दा महिला सहभागिताको दृष्टिकोणमा बामपन्थीहरु अलि अगाडि रहेका छन् । नेपाली काँग्रेसको राजनीतिमा निकै पछाडिमात्र महिला सहभागिता हुन थाले ।

खोटाङको कम्युनिष्ट आन्दोलनमा महिलाहरु विशेष गरेर २०३५÷०३६ सालबाट रहेको पाईन्छ । तत्कालीन भूमिगत राजनीतिमा सँगीता राना बाँझे च्यानडाडाँ, भम्पादेवी राई दोर्पा चिउरीडाँडा, विष्णुसरा राई दोर्पा चिउरीडाँडा, चेतकुमारी गुरुङ डुम्रेधारापानी कृयाशिल थिए । पार्टी राजनीतिमा सुशिला ढकाल रतन्छा, कमला राई चिसापानी, पार्वती राई सुन्तलेहरु थिए ।

सुशिला श्रेष्ठ चिसापानी विहेगरेर आएपछि पनि क्रियाशील रहे र अहिलेपनि निरन्तर छन् । तर, कतिपय पछिल्लो कालखण्डमा राजनीतिमा क्रियाशील रहन सकेनन् । नेपाली काँग्रेसको राजनीतिमा शान्ति राई जलेश्वरीले २०५४ सालमा गाविस अध्यक्षसमेत जिते । देवी राई निर्मलीडाडाँ, रामकुमारी राई लफ्याङ पनि काँग्रेस राजनीतिमा देखा परेका छन् ।

तत्कालीन पञ्चायतको राजनीतिमा शोभा गुरुङ दुवेकोल, कृष्णकुमारी राई नेर्पा, कृष्ण कुमारी सिम्पानी पनि रहेका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि भने राजनीतिमा महिलाहरुको सहभागिता देखिए पनि दलित महिला भने एकदम कमै रहेका छन् । अहिलेसम्मको खोटाङको महिला आन्दोलनहरुमा जति सहभागी भएपनि पार्टीको मुलधार राजनीति र सार्वजनिक पदहरुमा निकै कम उपस्थिति रहेको छ । अझ प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका महिलाहरुले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने अवसर निकै कम महिलाहरु पाए ।

वि.सं. २०४६ पूर्व शोभा गुरुङ दुवेकोलले तत्कालीन राष्ट्रिय पञ्चायतको निर्वाचनमा उम्मेदवारी दिएपनि जित्न सकिनन् । यस्तै कुमारी कष्ण राई नेर्पा र कृष्णकुमारी राई सिम्पानीले पनि २०४६ पश्चात प्रतिनिधिसभामा राप्रपाको तर्फबाट उम्मेदवारी दिएकी थिइन् । दुवै पनि सफल हुन सकेनन् ।                                                            यस पश्चात २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)बाट समिता कार्की ‘अस्मिता’ निर्मलीडाडाँ विजयी भइन् ।

यसैगरी तत्कालीन जनमोर्चा नेपालको समानुपातिक कोटाबाट दुर्गाजयन्ती राई नेर्पा (२०६५ सालमा माओवादीसँग पार्टी एकता), काँग्रेसबाट हीरादेवी गुरुङ बाँझे र एमालेबाट उषाकला राई खाल्लेले संविधानसभामा छिर्ने अवसर पाए । २०७० सालको संविधानसभाको निर्वाचनमा दुर्गाजयन्ती राईले तत्कालिन नेकपा (माओवादी)बाट उम्मेदवारी दिएपनि पराजित हुनुप¥यो । काँग्रेसले सरस्वती बजिमयलाई समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनायो ।

वि.सं. २०७४ सालमा संघीय निर्वाचनमा सरस्वती बजिमय नेपाली काँग्रेसबाट प्रतिस्पर्धा गरेपनि पराजित बनिन् । भने हीरा गुरुङ नेपाली काँग्रेसबाट समानुपातिकबाट सांसद बनिन् । यसैगरी प्रदेशमा एमालेबाट उषाकला राई प्रदेश सभा सांसद बनिन् ।

यस्तै स्थानीय तहमा तत्कालिन नेकपा मओवादी केन्द्रले बाहेक अन्यदलले अध्यक्ष पदमा उम्मेदवार नै बनाएन । उपप्रमुख भन्दा माथि तत्कालीन नेकपा एमाले र नेपाली काँग्रेसको उम्मेदवार बनाएनन् । तत्कालीन नेकपा (माओवादी केन्द्र)ले भने २०७४ सालको स्थानीय निर्वाचनमा दशवटा पालिका भएको स्थानमा पाँचवटा स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बनायो ।

केपिलासगढी गाउँपालिकाबाट दलित महिला नेता रस्मी रसाइलीलाई उम्मेदवार बनाएको थियो । यसैगरी रावाबेसी गाउँपालिकामा डाक्टर चेतकुमारी गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुर्गाजयन्तरी राई, जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राई दीक्षा र बराहापोखरी गाउँपालिकामा निशाना राईलाई प्रमुख पदमा उम्मेदवार बनाएपनि सबै ठाउँमा पराजित हुनु परेको थियो ।

महिलासँग सम्बन्धि भातृ सङ्गठनको प्रमुखमा समेत बामपन्थी शक्तिले नै महिलालाई नेतृत्व प्रदान गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले जिल्ला सेक्रेटरी र पछि जिल्ला इन्चार्जका रुपमा अस्मितालाई जिम्मेवारी दियो । तत्कालीन जनमोर्चामा दुर्गाजयन्ती राई, तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा तारा राई, जनमोर्चा निकट अनेरास्ववियु क्रान्तिकारीमा दुर्गाजयन्ती राई नेर्पा र यसपश्चाच बनेकाे जनमाेर्चा नेपालकै विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष डिगम राई नेर्पा, तत्कालीन नेकपा माओवादी निकट अनेरास्वावियु क्रान्तिकारीले जिल्ला अध्यक्षमा अमृता राई र माया चाम्लिङलाई अध्यक्ष बनाएको छ । यस्तै तात्कालिन नेकपा एकीकृत निकट विद्यार्थी संगठन अनेरास्ववियूले तारा राई हलेसीले अध्यक्ष सम्हालिन्।

पछिल्लो पटक तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको अनेरास्ववियुको जिल्ला संयोजक समेत माया चाम्लिङ नै बनेकी थिइन् । सर्वोच्च अदालतको फैसलापछि दुवै पार्टी आ–आफ्नै पार्टीको अस्तित्वमा फर्किएका छन् ।

यसरी हेर्दा प्रजातान्त्रिक पार्टी भनिएका काँग्रेस र जनताको बहुदलीय जनवाद मान्ने एमालेले अझै पनि महिलालाई प्रमुख पदमा ल्याएको देखिँदैन । आधा आकाश ओगटेका महिलालाई आगामी दिनमा राजनीति दलको मुल प्रवाहमा ल्याउन सबै राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्ने अवस्था देखिन्छ ।

तपाईको प्रतिक्रिया