खोटाङ प्रहरीको सक्रियता बढ्यो : भरुवा बन्दुकसहित दुई पुरुष पक्राउ

maiya

खोटाङ,२१ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेका ४९ वर्षिय दिलसेर राई र सोही स्थानकै ५५ वर्षीय खड्ग सिंह राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

प्रतिबन्धित भरुवा बन्दुकलाई लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर साहको कमाण्डमा खटिएको टोलीले उनिहरुको घर तथा गोठ खानतलासी गर्नेक्रममा १/१ नाल भरुवा बन्दुक बरामद गरि दिलसेर र खड्ग सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक साहले बताउनुभयो ।

पक्राउ परेका उनिहरुलाई अवैध हातहतियार खरखजना सम्बन्धि मुद्दा दर्ता गरि अदालतबाट पाँचदिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । हाल उनिहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

गत असार -४ गतेबाट जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध हातहतियार (भरुवा बन्दुक) सङ्कलन अभियान समेत शुरु गरेको थियो । प्रशासनले शुरु गरेको अभियान अन्तरगत ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका स्थानीय बासिन्दाको घरबाट १७ थान अवैध भरुवा बन्दुक सङ्कलन गरेको थियो । वन्यजन्तुको चोरी शिकार तथा जिल्लामा हुन सक्ने आपराधिक क्रिलयाकलाप नियन्त्रण गर्ने उद्देश्यका साथ प्रशासनले अवैध हतियार सङ्कलन अभियान शुरु गरे पनि जिल्लाका धेरैजसो स्थानीय बासिन्दाले अवैध भरुवा बन्दुक प्रशासनलाई नबुझाई घरमै राख्ने गरेका छन्।

यसैविषयमा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मासँग गरेको कुरानीमा शर्माले भन्नुभयो,“प्रशासनले शुरु गरेको अवैध हतियार सङ्कलन अभियानमा स्थानीयले प्रशासनलाई अवैधरुपमा राखेको भरुवा बन्दुक बुझाए पुरस्कृत गरिने छ भने भरुवा बन्दुक बुझाउन अटेर गरे कानुन अनुसार कारबाही गरिने छ ।”

प्रशासनले अवैध हतियार सङ्कलन अभियान शुरु गर्नुअघि प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट अवैध भरुवा बन्दुक र वन्यजन्तुको अङ्गसहित दर्जनबढी स्थानीय बासिन्दालाई पक्राउ गरेको थियो । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रविन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मालाई भरुवा बन्दुक, वन्यजन्तुको अङ्ग र भरुवा बन्दुकमा प्रयोग हुने विष्फोटक पदार्थसहित गत जेठ-१ गते उनीहरुको घरबाटै पक्राउ गरेको थियो ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई गत साउन-११ गते भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो । घरमा अबैध रुपमा भरुवा बन्दुकसहित खरखजना लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ परेका वडा सदस्य बानियाँसहित तीन जनालाई जिल्ला अदालतले धरौटीमा छाडेको छ ।

पछिल्लो समय जिल्लामा भरुवा बन्दुक प्रयोगगरी चोरी शिकार गर्ने व्यक्तिको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्रोतले जनाएको छ । प्रयाप्त वन्यजन्तु पाइने यस जिल्लामा अधिकांश स्थानीय बासिन्दाले मनोरन्जनका लागि मृग, थार, घोरल, खरायो, कालिज लगायतको शिकार गर्ने गरेको स्रोतको दाबी छ ।

जिल्लाका अधिकांश लेकाली क्षेत्रमा पर्ने जङ्गलमा शिकारीहरु बास बस्दै शिकार गर्ने गरेको स्रोतले जनाएको छ । अवैधरुपमा चोरी शिकार गर्नेक्रम बढेपछि जिल्लामा लोपोन्मुख जीवजन्तु भने सङ्कटमा पर्दै गएको छ ।

तपाईको प्रतिक्रिया