चन्द्रागिरिमा ‘केटाकेटी बटुलेर’ एमाले सिध्याउन सकिन्न

maiya

निर्मल भट्टराई

नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी(एमाले) न्यूनतम क्षतिमा आफ्नो अग्रगतिलाई निरन्तरता दिन सफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का विद्रोही नेता माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गर्ने हर्कत गरिरहँदा सम्पन्न एमाले स्थायी समितिको पछिल्लो बैठकले वडा अधिवेशनदेखि महाधिवेशनको कार्यतालिका तय गरेको छ । यसबाट सबै खालका अनिश्चयलाई चिर्दै पार्टी जीवनलाई थप सशक्त बनाउने, हरेक प्रतिक्रियावादी षणयन्त्रलाई परास्त गर्ने र क्षणिक रूपमा गुमेको सत्तामा पार्टी पुनः फर्कने अपेक्षा गर्न सकिन्छ । तुरून्त पार्टीलाई तृणमूल तहसम्म सङ्गठित गर्न अविलम्ब अभियान सञ्चालन हुन ढिला भइसकेको छ ।

अर्कातिर नेपालको राजनीतिमा एक अनौठो पात्र माधव नेपालले देशको दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको उक्साहटमा जनताको प्यारो पार्टी चोइट्याउने दुस्साहस गरिरहेका छन् । एमाले नेता, कार्यकर्ता र समर्थकबाट अलग्गिएका कारण कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा(एमाले)को लामो समयसम्म नेतृत्व गरेका माधव नेपाल आज आफैं न घरको न घाटको स्थितिमा पुगेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित दोश्रो तहका सबै नेताहरू एमालेको एकताको पक्षमा दृढतापूर्वक उभिँदा प्रतिक्रियावादी शक्तिसँग मिलेर एमाले सिध्याउने उनको धावाले हावा खाएको छ । उनी एउटा सानो अराजक झुण्डको नेतामा सीमित भएका छन् । अर्थात् उनी राजनीतिक धरहराको टुप्पाबाट खसेका छन्, पतन भएका छन् ।

अघिल्लो आम निर्वाचनमा बाम गठबन्धनले भव्य सफलता प्राप्त गरेपछि त्यही उत्साहमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न तयार भए । बन्दुकको बलमा सत्ता कब्जा गर्ने सार बोकेको माओवादी विचार बोकेको माओवादी केन्द्र र शान्तिपूर्वक बाटोबाट चुनावमा श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने जनताको बहुदलीय जनवादी सिद्धान्त अङ्गिकार गरेको एमालेबीच प्रष्ट वैचारिक मार्गचित्र तयारै नगरी हठात् एकता गरियो । एकतापछि बनेको नेकपामा पार्टीलाई वैचारिक र साङ्गठानिक रूपमा मजबुत बनाउन भूमिका खेल्नु पर्नेमा माधव नेपाल प्रचण्डसँग गोप्य साँठगाँठ गरि ओलीलाई पार्टी र सरकारबाटै हात धुन वाध्य पार्ने अभियानमा लागे । पार्टीभित्र र संसद्भित्र टाउको गन्न खप्पिस माधव नेपाल तुरुन्त पार्टीसत्ता वा राज्यसत्ता कब्जा गर्ने योजनामा लागे । सधैं अस्थिरतामा खेल्न मन पराउने प्रवण्ड र पदको लागि जे पनि गर्न पछि नपर्ने माधव नेपालबीच राष्ट्रपति विद्या भण्डारीसमेतलाई गलहत्याउने योजना बन्यो । राष्ट्रपति पदका व्यग्र आकाङ्क्षी झलनाथ खनाल त्यतै लपेटिए । यो उनीहरूको विचारमा आएको स्खलन थियो, खोट थियो । पार्टी एकताले पूणर्ता नपाउँदै, वैचारिक-साङ्गठानिक सवालको निरूपण नहुँदै माधवले ओलीभन्दा प्रचण्डलाई नजिक देख्नु नै एक रहस्यमय घटना थियो ।

सर्वोच्चको फैसलाले एमाले ब्युँताइदिएपछि पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षतामा बसेको विधानसम्मत बैठकलाई माधव नेपाल ‘गुटको बैठक’को संज्ञा दिए । आफूले नेतृत्व गरेको कोटरीमा कानेखुसी गर्दै निर्लज्ज रुपमा एमालेकै नेताको रूपमा विपक्षीसँग चोचोमाचो मिलाइरहे । एमालेको बरिष्ठ नेताकै हैसियतमा कथित अग्रगमनकारी एमालेविरोधी गठबन्धनमा सहभागी भए । तलतलसम्म त्यसै गर्न आफ्ना आसेपासेलाई उकासे । आफैं कार्यदल बनाएर त्यसले सुझाएको समाधान मान्न राजी हुने अनि बडो मेहनतसाथ कार्यदलले समस्या समाधान प्रतिवेदन तयार पारेपछि ‘म मान्दिन, मलाई बराबरी हैसियतको अध्यक्ष चाहिन्छ भन्ने नयाँ र असंभव माग अघि सारेर आफूलाई विभाजनकै कित्तामा उभ्याए । एमालेले पार्टी एकता जोगाउन एमालेले अन्तिमसम्म हदसम्मको लचकता देखायो ।

जतिबेला माधव नेपाल प्रचण्डसँगको मिलिभगतमा साविक नेकपाबाट ओलीलाई गलहत्याउने हर्कत गर्दै थिए, सडकबाटै ओलीलाई साधारण सदस्यबाट बर्खास्त गरेको ऐलान गर्दै थिए,त्यतिबेला आफूले वर्षौंवर्ष अङगालेको जनताको बहुदलीय जनवादलाई समेत प्रतिगमनकारी विचार भन्न भ्याए । मदन भण्डारीको रहस्यमय दासढुङ्गापछि एमालेको महासचिव बन्न पुगेका माधव नेपालले मौका पर्नासाथ जबजका नामी दुस्मन प्रचण्डको भाषा सापटी लिएर जबजको उछित्तो काढे । तर एमाले ब्युँझियो, फेरि जननेता मदन भण्डारीको फोटो मुनि उभिएर ‘हामी एमालेको विचार जबज हो, त्यसको सच्चा अनुयायी ओली होइनन् म हुँ पो भन्न थाले । अहिले पनि उनी जबजप्रति ओठेभक्ति त देखाउँदै छन्, तर दिल्लीमामा उपचाररत अर्का विद्रोही झलनाथ खनालले जबजको औचित्य सकिएको बताएका छन् । हुन त उनको जबजप्रतिको पहिलो टिप्पणी ‘दक्ष प्रजापति’ थियो । त्यसपछि उनी कहिल्यै जबजको समर्थक भएनन् ।

राजनीति गर्ने नेताको जीवनमा पदको हिसाबकिताब भइरहन्छ, अर्थात् उसको जीवन पदकै वरिपरि घुमिरहन्छ । कोही नेतालाई पदले लखेट्छ,कोही नेता पदको पछाडि मृगमरीचिकाको नियतिमा दौडिरहन्छन् । माधव नेपाल दोस्रो कोटिमा पर्छन् । माधव नेपाल एक पात्रमात्र होइनन् , प्रवृत्ति बनेर खडा छन् । पदलोलुप प्रवृत्तिको रूपमा । घोर प्रतिगमनकारी ज्ञानेन्द्रको आव्हानमा प्रधानमन्त्री पदको लागि विन्ती-पत्र चढाए पनि उनी सफल हुन सकेनन् । प्रथम संविधानसभाको निर्वाचनमा काठमाण्डौ र रौतहट दुवै क्षेत्रबाट जब उनलाई माओवादीले पराजित गर्‍यो, तब त्यही संविधानसभा सदस्य पद माओवादी सुप्रिमो प्रचण्डसँग बक्सिस मागे । माओवादी भिक्षाबाट संविधानसभामा पुगेका माधव नेपाल प्रधानमन्त्री पद माग्न चाहिँ गिरिजाको शरणमा पुगे ।

नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइदिन देउबा र प्रचण्डसँग निकै अनुनय-विनय गरेको तर पार्टी नफोरी त्यो संभव नहुने बताएपछि पछि हटेको बताइएको थियो । आफ्ना केही आसेपासेलाई मन्त्री बनाउन पनि उनले नयाँ पार्टी बनाउनै पर्ने भएपछि माधव नेपाल यो हर्कत गर्न पुगे ।

विचारलाई तिलाञ्जलि दिएपछि प्राप्त हुने परिणाम पनि अन्ततः बर्बादी नै हो । हालको माधव नेपालको एमाले चोइट्याउने गैरजिम्मेवार,प्रतिक्रियावादी षणयन्त्रबाट उनलाई केही हात लाग्ने छैन । उनी केही समयपछि सबैले छोडेको एक्लो सेनापति बन्ने निश्चित छ । यता आवश्यक वैचारिक र साङ्गठानिक तयारी नपुर्‍याइ माओवादी केन्द्रसँग एकता गर्दा पाएको हण्डर र ठक्कर एमालेले विर्सेको छैन । अब एमालेको अध्यक्ष पदलाई विधान महाधिवेशनमार्फत् बढी शक्तिशाली र व्यवस्थित बनाइने छ, वैचारिक र साङ्गठानिक तवरले एमालेलाई झन मजबूत बनाइनेछ ।

सरकारलाई पूणर्ता नदिइ माधव नेपालको पार्टी पर्खिएर बसेका भनिएका देउबाले उनका केही मानिसलाई ६ महिनाको लागि मन्त्री बनाउँलान् । त्यसबाट उनको कुनै अभिष्ट पूरा हुदैन । एमालेको सिङ्गो पङ्क्ति विभाजित हुन नचाहेको र दोस्रो तहका नेतहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकणर् विष्ट र भीम आचार्य, अमृत बोहोरा, रघुजी पन्तले समेत एमाले छाड्न नमानेको अवस्थामा देउबाले हाल चाहेजस्तो एमाले विभाजन हुदैन र गठबन्धनमा माधव नेपालको औचित्य पनि सकिंदै जान्छ । अब माधव नेपालको हैसियत निचोरिएको कागतीसरह मात्र हुनेछ ।

एमालेका केही ‘केटाकेटी’ बटुलेर चन्द्रागिरिबाट ऐलान गरे-आगामी चुनावमा उनको नेतृत्वमा एमालेविरोधी गठबन्धन बनाएर चुनाव लड्नेछन् । एमालेको विकल्पमा बन्ने सम्भावित बाम मोर्चाको नेतृत्वको सवाल छ, त्यो अर्को मृगमरीचिकामात्र हो । प्रचण्डले माधवलाई एमाले फुटाउन उक्साए, तर नेपाल एमालेबाट नाङ्गै निस्किएबाट अब उनलाई प्रचण्डले समेत त्यति भाउ नदिने निश्चित छ । आफ्नो प्रमुख प्रतिस्पर्धी एमाले फुट्ला, झर्ला र खाउँला भनेर सरकार विस्तार नगरी माधव नेपाललाई पर्खेर बसेका देउबालाई पनि निरासाबाहेक केही हात लाग्नेवाला छैन । बरु एमालेविरोधी गठबन्धन पानीको फोकासरह हो,कुनै पनि बेला फुट्न सक्छ ।

एमालेको सरकारभन्दा काङ्ग्रेसको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा काङ्ग्रेस संस्कारी देख्ने माधव नेपालका कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई खास फरक पर्ने छैन । एमालले त त्यसको तुरून्त क्षतिपूर्ति गर्नेछ । तर, सुरूमा ओलीसँगको सामान्य असन्तुष्टिबाट बाँउटिएका माधव नेपालको राजनीतिक जीवन चाहिँ तत्क्षण ढिसमिस भएको छ ।
दैनिक नेपाल डटकमबाट

तपाईको प्रतिक्रिया