शिक्षा पाश्र्वचित्र तथा शिक्षा योजना निर्माणका लागि प्राविधिक कार्यदल गठन

maiya

खोटाङ,३२ साउन । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत खोटाङका स्थानीय तहमा शिक्षा पाश्र्वचित्र तथा शिक्षा योजना निर्माणमा प्राविधिक सहयोग पुर्‍याउनका लागि टेक्निकल टास्क टिम (थ्री-टि) गठन गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमको संयोजकत्वमा ८ सदस्यीय प्राविधिक कार्यदल गठन गरेको हो ।

शिक्षा अधिकृत विज्ञान राउत, सुरेन्द्र खनाल, आइएमइआइएस एकराज बुढाथोकी, तीर्थराज दाहाल, योजनाविज्ञ लक्ष्मीप्रसाद खनाल, विनेश श्रेष्ठ र शान्ता राई टेक्निकल टास्क टिमको सदस्य चुनिएका छन् । टेक्निकल टास्क टिमले विद्यार्थीको शैक्षिक सिकाई उपलव्धी अभिवृद्धिका लागि दश स्थानीय तहको शिक्षा पाश्र्वचित्र तथा १० वर्षे शिक्षा योजना निर्माणका लागि प्राविधिक सहयोग पुर्‍याउने संयोजक एवं शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख गौतमले बताउनुभयो ।

टेक्निकल टास्क टिमले स्थानीय तहलाई सम्वन्धित ठाउँमै पुगेर प्राविधिक सहयोग उपलव्ध गराउने छन् । आइतबार र सोमबार आयोजित बैठकमा उपस्थित नौ स्थानीय तहका शिक्षा शाखाका संयोजक एवं शिक्षा अधिकृत लगायतले शिक्षा पाश्र्वचित्र र शिक्षा योजना तयार पार्न कार्ययोजना तय गरेका छन् । यद्यपि, बैठकमा खोटेहाङ गाउँपालिकाको प्रतिनिधि भने अनुपस्थित थिए ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले नमूना शिक्षक पेशागत सहयोगका लागि रावाबेँसी गाउँपालिकालाई चयन गर्ने निणर्य गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये रावाबेँसी गाउँपालिकालाई नमूना पेशागत सहयोग कार्यक्रमका लागि चयन गर्ने निणर्य गरेको हो । बैठकमा सहभागीले एकीकृत शैक्षिक सूचना चुस्तदुरुस्त बनाउनका लागि विद्यालयलाई सहयोग र सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन गरिएका कार्यक्रमका बारेमा जानकारी दिनुका साथै चालु आर्थिक वर्ष सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी दिइएको छ ।

चालु आर्थिक वर्ष प्रारम्भिक पढाई सीप विकासका लागि न्यूनतम प्याकेज कार्यान्वयन गर्ने, विद्यालय सुपरिवेक्षण तथा शिक्षकको पेशागत सहयोगका कार्यक्रम सञ्चालन गर्ने, पठनसीप प्रतियोगीता, छापायुक्त कक्षाकोठा वातावरण निर्माण, एकीकृत शैक्षिक सूचना तथा प्रणाली व्यवस्थापन, शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयनका विषयमा स्थानीय तहका कर्मचारीको क्षमता विकास तालिम, स्थानीय तहसँगको समन्वयमा विद्यालय सुपरिवेक्षण तथा शिक्षकका लागि पेशागत सहयोग लगायतका गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

खोटाङमा आर्थिक वर्ष २०७७/०७८ देखि राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू गरिएको हो । वालबिकासदेखि कक्षा ३ सम्मका विद्यार्थीको नेपाली विषय लगायतको पढाइ सीप सुधार गर्ने लक्ष्यका साथ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका लागू गरिएको हो ।

हाल जिल्लाका ४ सय ८५ विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन भइरहेको छ । पढाइ कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यूएसएडको सहयोगमा मुलुभरका खोटाङ सहित ३८ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भइसकेको छ ।

तपाईको प्रतिक्रिया