तालिबान लडाकुले कब्जामा लिए अर्को बलियो सहर, राजधानी काबुल जोगाउन कठिन

maiya

एजेन्सी । तालिबान लडाकु समूहले अफगानिस्तानका एकपछि अर्को गर्दै ठूला र महत्वपूणर् शहर आफ्नो कब्जामा पारिसकेका छन् । ती शहरबाट विस्थापित भएका हजारौँ सर्वसाधारणहरू अहिले ज्यान जोगाउनका लागि तुलनात्मक रूपमा सुरक्षित मानिएको राजधानी शहर काबुल पुगेको बताइएको छ ।

अफगानिस्तान सरकार र सेनाको सबैभन्दा बलियो गढ मानिने मजार-ए-सरिफ सहर पनि तालिबानले कब्जामा लिएपछि अब देशकै प्रमुख शहर एवं राजधानी जोगाउन कठिन हुने बताइएको छ । बिबिसीका अनुसार यो आक्रमण अफगान सरकारका लागि सबैभन्दा ठूलो झट्का हो । मजार-ए-सरिफ बाल्ख प्रान्तको राजधानी र सरकार समर्थक सेनाको अन्तिम गढ थियो, त्यो पनि विद्रोहीको कब्जामा परेपछि चिन्ता बढेको छ ।

अहिले उक्त लडाकु समूह काबुल नजिक पुगेको र काबुल कब्जाको तयारी गरिरहेको बताइएको छ । यसअघि भनिएको थियो कि मजार-ए-सरिफ तालिबानले नियन्त्रणमा लियो भने राजधानी काबुल सुरक्षित राख्न गाह्रो हुनेछ । अहिले यस्तै गाह्रो अवस्था अफगानिस्तानले झेल्दै छ । २० वर्षदेखि अफगानिस्तानमा डेरा जमाएर बसेको अमेरिकी सेना बाहिरिँदै जान थालेपछि तालिबानको आक्रमण व्यापक बनेको छ । तर अहिले पनि केही अमेरिकी सेनाहरुले काबुल जोगाउन त्यहाँ प्रवेश गर्ने क्षेत्रमा तालिबानलाई लक्षित गरेर हवाई हमला गरेका विवरणहरू पनि आइरहेका छन् ।
अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र काबुल प्रवेशका लागि अघि बढ्ने प्रयास गर्न सक्ने आँकलन गरेको बताइएको छ । अहिले काबुल भन्दा ४० किलोमिटर टाढा रहेको अर्को एक सहरमामा हिंसात्मक भिडन्तहरू भइरहेका छन् ।

अफागानिस्तानको यो अवस्थाले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायमा चिन्ता थपिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको र युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया