बनी, बेसाहा, पैँचो र पच्चिसा

Halesi Khabar

–भीम राई
पहिले मानिसहरुमा मानवीयता, असल सँस्कृति, दया मायाँ र करुणा सबै थियो । परिश्रम गर्ने बानीले सकेसम्म आत्मनिर्भर बन्न उनीहरुले रातदिन पसिना बगाउँथे । उनीहरु मेहनतले खेतबारीमा काम गर्दथे । आफूले उत्पादन गरेको अन्नले आफ्नो परिवार कसरी पाल्ने चिन्ता उनीहरुमा देखिन्थ्यो ।

केही कथिङ्गलले आफ्नो उत्पादनले परिवार धान्न नसक्ने अवस्था आयो भने उनीहरुलाई अनिकालले छोपेको हुन्थ्यो । त्यसपछि उनीहरु झन् कडा मेहिनत गर्न शुरिन्थे । केही गरी छाक टार्नै अफ्ठयारो परिगयो भने विकल्पमा उनीहरुले बनी गर्न पथ्र्यो ।

बनी गर्न गएर ल्याएको केही अन्नले पेट भर्ने काम हुन्थ्यो । यसबाहेक खेताला गएर केही पैसा जम्मा गर्ने र त्यहि पैसा बोकरे उनीहरु बेसाहा खोज्न जान्थे । नजिकमा हाटा लाग्ने भएमा हाटबाट बेसाहा ल्याइन्थ्यो नत्र कुन गाउँमा को धनी÷महाजन छ उसको घरमा गएर बेसाहा गरिल्याइन्थ्यो । त्यो एक समयको दुःख थियो ।

जब बेसाहा लिन जाँदा टाढाको हाटा जानुपर्ने नै भएपछि उनीहरु सल्लाह गरेर गाउँका मिल्ने साथीहरुले टोली बनाउँथे । उनीहरुलाई बाटामा हिँडेको देखेमा उनीहरुलाई ढाक्रे भन्ने पुरानो चलन थियो । यसरी गुजारा चलाउने हाम्रो समाज । पैँचो र पच्चीसामा अधिक चल्ने गर्दथ्यो । गाउँघरमा जीवन चलाउन यस्ता धेरै कामहरुले मानिसको आत्मीयता बाँचेको हुन्थ्यो ।

गाउँमा गोस गर्दा ओलेँसी खाने चलन, मासुमा अन्न लगाउने चलन ती साँच्चै सुन्दर चलन थियो त्यो बेला । अर्मपर्मले चल्थ्यो खेतीपातीका सम्पूर्ण काम । परिश्रम गर्न कोही कसै लजाउँदैन थे । उनीहरुको काम ध्यानमा हुन्थ्यो । पर्मेली खेल्नु, मेलापातमा ख्यालठट्ठा गर्नु सबै सामान्य थियो ।

कुनै खबर आदान प्रदान गर्दा निकै टाढा भए चिठीको साहारा लिइन्थ्यो । कुनै पनि शुभ अशुभ कार्यको निम्ता बाँढ्न मान्छे स्वयम् सशरीर सम्बन्धित घरमा उपस्थित हुनुपथ्र्यो । लाहुर जानेहरु दुई÷तीन वर्षपछि आइपुग्थे । गाउँभरीका आफन्तलाई पार्सल बोकेर ल्याउनु उनीहरुको कर्तव्य जस्तै हुन्थ्यो । केही कथिङ्गल आउन नपाउने भएमा चिठी आउँथ्यो । त्यहि चिठी हेरेर सबैले खबर सुन्थे ।

यसरी चिठी आउँदा धागोले बाँधेर आएमा गाउँ नै रुवाबासी हुने गथ्र्यो । धागोले बाँधेको चिठीमा खबर नै त्यस्तो हुन्थ्यो जसको चिठी हो उसको मृत्यु भइसकेको हुन्थ्यो । ती सब त्यसबेलाका समाजमा जीवन यापन गर्ने प्रकृयाहरु थिए ।

त्यसबेला आफ्नो उत्पादनले खान नपुगेर बेसाहा खोज्न जानेप्रति खिसी÷ट्युरी गरिन्थ्यो । बेसाहा गर्ने भनेको जग्गा जमिन नभएको, अल्छे, काम नलाग्ने भन्ने बुझिन्थ्यो । अझै अर्को अर्थमा भन्ने हो भने, खान नपुग्ने गरिबका रुपमा लिइन्थो । अहिले हामी प्रत्येक दिन बेसाहा खोज्न दौडीरहेका हुन्छौँ ।

अहिले जसले बढी बेसाहा खोज्छ त्यो सम्पन्नसाली भन्ने घमण्ड गर्छन् । बनीबुतोका लागि खेताला गर्न जाने भनेको आफ्नोमा काम नभएर जाने होइन । सकेसम्म खेतला लगाएर बनी दिन सक्ने मान्छेलाई धनी मानिन्थ्यो । खेताला जानु या बनी गर्न जानु भनेको अति गरिबीको सूचकाङ्कभित्र रहेको जस्तो हुन्थ्यो तर, आज हामी दैनिक बनीबुतो गर्न दौडीरहेका छौँ । खेताला गइरहेका छौँ ।

पैसाका लागि गरिने सबै किसिमका कामहरु बनीबुतो कै काम त हो । आखिर यसमा के फरक छ र ? उहिले बेसाहा गर्न साहु अर्थात धनी÷महाजनकामा जानु पथ्र्यो अहिले पसलमा जानु पर्छ । हामी अचेल दोकान छाडेर पसलमा पुगेका छौँ । छिटै मार्केट छिर्दै छौँ । बनीबुतो र खेतालापात गर्न धनीमानी कहाँ जान्थ्यौँ अहिले अफिस भनिएका साहुजी र ठेकेदारकामा जान्छौँ फरक यत्ति हो ।

अहिले पहिले जस्तो अ‍ैँचोपैँचो चल्न छाडेको छ । काम चलाउन कसैको लिएर केही समयपछि उति नै र उस्तै फिर्ता दिने मानवीय कामको हाम्रो नजरमा कम हुन थालेको छ । पच्चीसा भन्ने शब्दको त अब अर्थ हराइ नै सकेको छ । एकमुरी अन्नको निश्चित समयपछि पच्चीस पाथी फिर्ता गर्ने प्रचलन थियो । त्यो अभावमा गरिब नमार्ने रणानीति हो त्यो । तर, यहाँ अब त्यो पनि रहेन !

अर्को मासु दिएर अन्न लिने चलन पनि अब टाढाको विषय बनीसकेको छ । यो वस्तु विनिमियको एउटा नमूना अध्यास थियो । जसको निश्चित रेट तोकिएको हुन्थे । एक धार्नी मासुको पाँच पाथी कोदो या चार पाथी धान । यो गाउँघरमा चल्ने लोकप्रिय सँस्कार बसेको रहेको थियो भने लेक र बेसीका मानिसहरुका लागि उत्पादन साट्ने चलन सबैभन्दा समावेशी चलन थियो । लेकमा आलु, बेसीमा धान कोदो, साटासाट गर्ने चलनले आर्थिक अभावको कुनै सङ्कट थिएन ।

अझै लेकमा बेसीबाट आलुको बीउ खोज्न जाँदाको मापन गर्ने एक किसिमको हिसाब हुन्थ्यो । धान भए तीन खुुट, कोदो भए डेढी, मकै भए सरी । आहा ती दिनहरु कता पुगे होलान् !

अर्मपर्म गर्ने चलन । चिठीपत्रमा आदान÷प्रदान हुने समाचार । वास्तबमा आधुनिकताले बिर्साउदै गएको सँस्कृतिको पनि कतिपय ज्ञान र विवेकले काम गर्ने रहेछ । अहिलेको समयमा आएका यी सम्पूर्ण प्रविधिहरु फेरि एक पटक ठप्प हुने भने तिनै बिगतलाई हामीले अनुसरण गर्न नपर्ला भन्न सकिन्न ।

सीप र ज्ञानहरुलाई सुरक्षित गर्न हामीलाई धेरै कुराले बाधा दिएको छैन केवल हाम्रो विचार र बुझाइले मात्र असर गरेको छ । हाम्रो समाजमा यसअघि हुने गरेका कतिपय कुराहरु अझै संरक्षण गर्न लायक छैन र ?

तपाईको प्रतिक्रिया