खोटाङ प्रहरीको सक्रियता बढ्यो, वडा सदस्य भरुवा बन्दुक सहित पक्राउ

Halesi Khabar

सन्तोश पौडेल
खोटाङ, १२ साउन । भरुवा बन्दुकसहित खोटाङका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिबन्धित भरुवा बन्दुकसहित पक्राउ पर्नेमा ५९ वर्षीय वडा सदस्य पर्शुराम तथा सोही वडाका ३३ वर्षीय मीलन बानियाँ र ६९ वर्षीय मदनबहादुर बानियाँ रहेका छन् । घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको घर खोज तलास गर्दा पर्शुरामको घरबाट नभरिएको एक नाल भरुवा बन्दुक तथा मदनबहादुर बानियाँको घरबाट छर्रा, बारुद लोड गरेको एक नाल भरुवा बन्दुकका साथै त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा, सलाई र मीलनको घरबाट छर्रा बारुद लोड गरेको एक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता सागर साहले जानकारी दिनुभयो ।
पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना सम्बन्धी मुद्दा दर्ता गरि अदालबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया