खोटाङका किसान सिन्कौली खेतीतर्फ

maiya

खोटाङ,६साउन । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा यहाँका स्थानीयवासिन्दा सिन्कौली (तेजपात)को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रुपमा प्रयोग गरिने सिन्कौलीको पात तथा बोक्रा राम्रो मूल्यामा विक्री हुने भएपछि स्थानीय सो खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

प्रविधि परिवर्तन गर्नासाथ न्युन आर्थिकस्तर भएका किसानले तेजपातको उत्पादन बढाउने भएका छन् । सिन्कौलीको बजारभाउका बारेमा जानेबुझेका किसानले हाल डिभिजन वन कार्यालय खोटाङ, सामुदायीक वन उपभोक्ता महासंघ एवम् विभिन्न कृषि फर्मसँगको सहकार्यमा सिन्कौलीको बेर्ना सकनेर वा निःशूल्क रुपमा खरिद गरि खाली जग्गामा रोप्न थालेका हुन् । छिमेकी जिल्ला उदयपुरको बेलटार, गाईघाट लगायतका बजारमा पुर्‍याउँदा सिन्कौलीको पात प्रतिकिलो ६० रुपैयाँ र बोक्रा प्रतिकिलो डेढ सयका दरले विक्री हुने भएपछि स्थानीय सिन्कौली खेतीतर्फ आकर्षित हुन् थालेको सामुदायीक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

थोरै लगानीमा आयआर्जन माध्यमका रुपमा उपयोग गर्न सकिने भएकाले किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका महासंघका अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो,“सदावहार हरियाली रहने सिन्कौली खेती वातावरणीय हिसावले पनि उत्तिकै फाइदाजनक मानिन्छ । जिल्लामा सिन्कौलीको राम्रो सम्भावना छ । सिन्कौलीको बजार पनि राम्रो छ । यसको खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ । किसानले सिन्कौली खेतीबाट निकै राम्रो आम्दानी गर्न सक्छन ।”
जिल्लामा सामुदायीक वन र व्यक्तिगत जग्गामा वा बाँझो जमिनमा सिन्कौली खेती लगाएर आयआर्जन गर्न सकिने प्रचुर सम्भावना रहेको छ ।

खोटाङका अधिकांश स्थान सिन्कौली खेतीका लागि उपयुक्त भए पनि हालसम्म व्यवसायीक रुपमा खेती हुन सकेको छैन । गाउँघरमा फाट्ट-फुट्ट मात्रामा लगाइएका सिन्कौलीको पात चिया, पुलाउ, मासुको परिकारलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाकारुपमा उपयोग गर्ने गरिएको छ ।

वासनादार मसलाका रुपमा प्रयोग गरिने सिन्कौलीको पालुवा गाइवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठकारुपमा प्रयोग गर्ने गरिएको छ । अलि बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पुर्‍याएर विक्री गर्ने गरेका छन् । रोपेको ५-६ वर्षदेखि सिन्कोलीको पात टिप्न सकिने स्थानीय किसानले बताएका छन् ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधिजन्य तेल समेत उत्पादन हुने गर्दछ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ती बढाउन, रोकिएको पिसाव खुलाउनदेखि मुटु सम्वन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको अध्यक्ष राईले बताउनुभयो । सिन्कौलीको बासनादार तेल ससेज, अचार, केक लगायतका परिकारमा समेत प्रयोग गरिन्छ ।

छिमेकी जिल्ला उदयपुर जोड्ने धाप्लाङ-धर्तुङ सडक बनेपछि बराहपोखरी गाउँपालिकाको मौवाबोटे, सुन्तले, फाक्टाङ, पोवासेरा लगायतका वडामा उत्पादित सिन्कौलीले बजार पाउन थालेको छ । खेर गइरहेका सिन्कौली अहिले गाडीमार्फत बाहिरिने गरेको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया